१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुठभेडतर्फ मुलुक

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

दिउँसो १ बजे बोलाएको संसद् बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो २ बजे सुरु भएको थियो। बैठकको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गर्ने विषय भएकाले सभामुख कृष्णबहादुर महराले बैठक बस्नुअघि कांग्रेस र सत्तापक्षका संसदीय दलका उपनेता र प्रमुख सचेतकसँग छलफल गरी सहमति प्रयास गरेका थिए। सहमति जुट्न नसकेपछि सभामुख महराले प्रतिपक्षले विरोध जनाए संसद् बैठकअघि नबढाउने आश्वासन दिएको कांग्रेस सांसद गगनकुमार थापाले बैठकपछि बताए। ‘भित्र एउटा भनियो,’ थापाले भने, ‘बैठक अर्को तरिकाले जालझेलपूर्ण ढंगबाट सञ्चालन गरी विधेयक पारित गर्ने काम भयो, जुन आपत्तिजनक छ। सत्तापक्षले राजनीतिक मुठभेड निम्त्याउने गरेको छ।’

ठकको सुरुमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा स्थापना भएका दुई स्वास्थ्य केन्द्रलाई संघीय सरकारअन्तर्गत राख्ने निर्णय नभएसम्म संसद्को कारबाही अघि बढ्न नसक्ने बताएपछि कांग्रेसका सबै सदस्य रोस्ट्रमअघि पुगेका थिए। त्यहीं उनीहरुलाई मर्यादापालकले घेराबन्दी गरेका थिए। मर्यादापालकलाई घेराबन्दी गर्न लगाएको भन्दै कांग्रेस नेताहरुले त्यसलाई हटाउन सभामुखसँग माग गरेका थिए, जसलाई महराले सुनेको नसुन्यै गरेका थिए।

दुई नेताका नाममा रहेका अस्पतालका विषयमा यसअघि नै ‘रुलिङ’ गरेको र अब प्रधानमन्त्री स्वदेश फर्किएपछि आफूले पहल थाल्ने बताउँदै सभामुख महराले आआफ्नो स्थानमा गएर बस्न प्रतिपक्षी सांसदलाई आग्रह गरेका थिए। कांग्रेस सांसदले संसदीय मर्यादा कायम गर, अधिनायकवादी शैली बन्द गर, यथास्थितिमा संसद् चल्न सक्दैन, दुईतिहाइको दम्भ बन्द गर, जनताका नेताको अपमान गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। सभामुखले २ बजेर ३३ मिनेट जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए। त्यसपछि प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरिरहेका बेला पछाडि बसेका १५ जना मर्यादापालककले मन्त्री पोखरेललाई समातेर रोस्ट्रममा लैजान खोजेका थिए। तर प्रतिपक्ष कांग्रेसका सांसदले मन्त्रीलाई सजिलै जान दिएनन्। त्यसपछि मन्त्री सत्तापक्षका सांसदको दोस्रो ‘रो’ को दोस्रो सिटबाट छिरेर गएपछि मर्यादापालकले ‘रोस्ट्रम’ मा पुर्‍याए। प्रमुख प्रतिपक्षी सांसदलाई घेरा हाल्न सयभन्दा बढी मर्यादापालक शुक्रबारको बैठकमा खटाइएको थियो।

माघ ८ गतेको बैठकमा रोस्ट्रममा जान नसकेका मन्त्री पोखरेलले मर्यादापालकको सहयोगमा रोस्ट्रममा उक्लेपछि युद्ध जितेकै शैलीमा हाँस्दै सांसदतर्फ दाहिने हात हल्लाएका थिए। उनले रोस्ट्रममा पुग्दा विजयको अनुभूति गरेको देखिन्थ्यो। उनले प्रस्ताव गरेपछि सभामुख महराले विधेयक पारितको प्रक्रिया सुरु गरेका थिए। विधेयकमा नेमकिपाका प्रेम सुवालले विपक्षमा मतदान गरेका थिए भने राजपाका नेता तटस्थ देखिन्थे। कांग्रेस सांसद भने लगातार नाराबाजी गरिरहेका थिए।

जम्मा पाँच मिनेटमा विधेयक पेस गर्नेदेखि पारित गर्नेसम्मको काम सकेका सभामुख महराले विधेयकको दफा २ देखि ५३ सम्म विधेयकको अंग बनोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गल्ती गरे। हतपतको काम लतपत भनेजस्तै हडबडाएका सभामुखले ‘हुन्न भन्ने सदस्यको बहुमत भएकाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको दफा २ देखि ५३ सम्म अंग बनेको घोषणा गर्दछु’ भनेर गल्ती बोले। उनले ‘हुन्छ भन्ने सदस्यको बहुमत भएकाले’ भन्नुपथ्र्यो। नेकपाका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित भएबाट नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा ठूलो विजय भएको बताए।

प्रकाशित: १२ माघ २०७५ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App