१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक पुनर्निर्माण सुरु गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको जगमा पुजा गरि उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा ‘मौलिकता झल्कने र आधुनिकता टल्कने हुने बताए।

उनले मौलिकता र आधुनिकताबारे ख्याल राखेर नयाँ धरहरा बनाउन सरकार लागिपरेकाले त्यसमा कुनै चिन्ता नगर्न आग्रह गरे। ‘यो पटक बन्ने धरहरामा कुनै गुनासो नआउने गरि कम्पनीले जिम्मेवारी अनुसार काम गर्छ, दुई वर्षपछि हामीले धरहराको टुप्पोबाट हराभरा र सुन्दर उपत्यका नियाल्न पाउँछौं, बल्ल पुरानो धरहराको झल्को आउने छ।’ उनले भने।

२०७२ फागुन ४ गते यसै ठाउँमा आएर प्रधानमन्त्री ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान पनि सुरू गरेका थिए। धरहराको पुनर्निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन उनको आग्रह पनि थियो। त्यतिबेला धेरैले सहमति जनाएपनि संकल्प पुरा भएन। अन्ततः धरहरा पुनर्निर्माणको काम दुई वर्ष भन्दा बढी पर धकेलियो।  अहिलेको उद्घाटनले फेल नखाने र धरहराले मुर्त रुप पाउने उनको भनाई थियो।

उद्घाटनकै क्रममा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ आफै सुरु गरेका स्मरण गरे। उनले आफैले सुरू गर्न लागेको पुनर्निर्माणमा त्यतिबेला केही अवरोधका कारण ब्रेक लागेको बताए। ‘अब कुनै अवरोध आउँदैन, नयाँ संकल्पका साथ हामी अघि बढिसकेका छौं, त्यतिबेला सरकारी खर्चमा नभएर जनताकै खर्चमा ‘अलिकति फरक ढाँचामा सोचेको थिएँ,’ उनले भने, ‘मै बनाउँछु मेरो धरहरा’, तर, केही–केही अवरोध आए, काम अघि बढ्न सकेन।’ धराहरा पुनर्निर्माणको जिम्मा रमण कन्र्ट«क्सन  प्रालि (जिआइटिसी) ले पाएको छ।

दुई वर्षमा सकिने गरी पुनर्निर्माण थालिएको धरहराको लागत अनुमान ३ अर्व ४८ करोड रहेको छ। बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको हुने जनाइएको छ। यसको धराहराको उचाई ७५ फिट छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएकोे धरहराको वरिपरी म्यूजियम, आकर्षक बगैंचा, थिएटर, वाटर फाउन्टेन, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु बनाइने छ। त्यस्तै, आधुनिकतालाई अबलम्बन गर्दै धरहरामा लिफ्ट राखिने छ। वृद्धवृद्धा पनि यसैबाट ‘टप’मा पुग्न सक्नेछन्। 

लागत स्टीमेट अनुसार समयमै काम गर्नेगरी निर्माण कम्पनीले काम थालेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए। उनले ठूल्ठूला योजनाका कारण सहर धुलाम्य बनेकाले सम्बन्धित निर्माण कम्पनी वा निकायले त्यसतर्फ चासो दिएर विकास निर्माणका काम समयमै सक्न आग्रह पनि गरे।

‘पुनर्निर्माण प्राधिकरण, स्थानीय, संस्कृतिविद् र अन्य सबै निकायसँग समन्वय गरेर धरहरा पुनर्निर्माणको काम अघि बढेको छ,’ उनले भने, ‘हामीकहाँ राम्रो काममा निकै बाधा आउने गरेको छ, धराहराको विषयमा पनि त्यहीँ भयो, अनेकौं विवादका बावजुत बल्ल उद्घाटन भयो, अब पुनर्निर्माणको काम तीब्र रुपमा अघि बढ्छ,’ उनले भने। धरहरा बनाउँदा मौलिकता र आधुनिकता दुवै पक्ष समेटिएको जानकारी दिँदै मेयर शाक्यले अब बन्ने धराहरा कहिल्यै नलड्ने गरी उठ्ने बताए।

‘अब बनेपछि सुन्धारा र धरहरा कहिल्यै ढल्नेछैन, यसलाई हामीले आर्कषक क्षेत्र बनाउँछौं, सबैको खुशी धरहराले बोक्ने छ,’ उनले भने, ‘यसबारे हामीले मात्रै सोचेर हुँदैन, ठेकेदारले पनि सोचिदिनुपर्याे।’  कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामवहादुर थापा, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित थिए।

प्रकाशित: १२ पुस २०७५ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App