६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा स्थायी कमिटीमा अध्यक्ष द्वयको संयुक्त राजनीतिक प्रस्ताव, वामदेवको छुट्टै

तस्बिरः रासस

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेका छन्।

संयुक्तरुपमा पेश भएको प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा वामदेव गौतमले फरक प्रस्ताव पेश गरेका छन्। गौतमको प्रस्तावले अध्यक्ष द्वयको प्रस्तावलाई सहयोग पुर्‍याउने प्रवक्ता श्रेष्ठले बताए। बैठकमा पेश गरिएका प्रस्ताव स्थायी समिति सदस्यहरुलाई अध्ययनको लागि दिइएको छ। सदस्यहरुले आइतबार प्रस्ताव अध्ययन गर्ने र सोमबार बैठक बस्ने छ।

स्थायी कमिटी बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुँगोमा पुर्‍याउने विश्वास लिइएको छ। गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउनसकेको छैन। 
यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ। एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। यस्तै पोलिटव्यूरोको चयनसमेत हुनसकेको छैन। 
सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन।

प्रकाशित: २९ मंसिर २०७५ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App