२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश राजधानीको विरोध : प्रदेश सांसदलाई कालो झण्डा

डोटी– डोटीका युवाहरुले डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य अर्चना गहतराजलाई कालोझण्डा देखाएका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउन मतदान गरेको भन्दै सोमबार दिपायलमा युवाहरुले कालोझण्डा देखाएका हुन्। 

डोटी चेम्बर अफ कमर्शले बडादशैँ तथा दीपावलीका अवसरमा पिपल्ला बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गहतराज प्रमुख अतिथि थिइन्। सोही कार्यक्रममा उनले मन्तव्य राख्न शुरु गर्दैगर्दा युवाहरुले नाराबाजीसहित कालोझण्डा देखाएका थिए। त्यसपछि उनले मन्तब्य राख्न सकिनन्। 

डोटीबासी प्रदेशको राजधानी दिपायल हुनुपर्ने भन्दै लामो समयदेखि आन्दोलनमा छन्। यसैक्रममा यहि असोज १२ प्रदेश सभाको दुई तिहाई बहुमतबाट राजधानी कैलालीको गोदावरी तथा सुदूरपश्चिम प्रदेश नामाकरण गरिएको छ। त्यही प्रस्तावमा डोटीबाट निर्वाचित सांसद तथा मुख्यमन्त्री त्रिलोचन भट्ट,  सांसदहरु पूर्णा जोशी र अर्चना गहतराजले मतदान गरेका थिए। उनीहरु सहितको मतदानपछि ५३ सदस्य रहेको संसदमा ३८ मत पक्षमा परेको थियो। ‘सो निर्णयको पक्षमा डोटीका तीनजना सांसदले मत नहालेको भए दुई तिहाई पुग्ने थिएन’, कालो झण्डा देखाउन सक्रिय दिपायलका युवा विनोद खड्काले भने,‘त्यसैले उनीहरुले डोटेली जनमतको अवमूल्यन गरेका छन्। आफ्नै आमाको अस्मितामाथि खेलवाड गरेका छन्। त्यसैले कालोझण्डा देखाएका हौं।’ 

अर्का यूवा खडक बहादुुर कठायतले तीनैजना सांसदलाई आफूहरुले सधै बहिस्कार गर्ने र उनीहरु उपस्थित भएका कार्यक्रममा कालोझण्डा सहित जाने बताए। उनले भने, ‘भोट माग्दा दिपायल राजधानी बनाउछौं भनेर माग्ने अहिले डोटीका विरुद्धमा मतदान गर्ने। अनि हाम्रै अगाडि शानसंग छाती खोलेर भाषण गर्न आउने? उनीहरुमा नैतिकता भए डोटीको माटो समेत टेक्ने अधिकार छैन।’ 

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने सबैजसो बक्ताहरुले गहतराज लगायतका तीनै जना सांसदको खुलेर बिरोध गरेका थिए। ‘हामी यी सांसदलाई सधै बहिस्कार गर्छौं। यिनका कुनैपनि कार्यक्रममा सहभागी हुँदैनौ,’ नेपाली कांग्रेसका नेता जीत बहादुर खड्काले भने, ‘उनीहरुले पनि डोटीमा हुने सार्वजनिक कार्यक्रममा उपस्थित हुने दुस्साहस नगरे हुन्छ।’ उनले डोटेली जनतालाई छलकपट गरेर चुनाव जितेपछि डोटीकै अधिकारमाथि नराम्ररी लात हानेको आरोप लगाए। ‘राजधानी नभए राजीनामा दिन्छौ भनेर भोट मागेर चुनाव जित्नेहरुले आज खुल्लम–खुल्ला दिपायलका विपक्षमा भोट हालेका छन्। र सगौरव छाती खोलेर हिडिरहेका छन्। उनीहरुलाई हामी कदापी हाम्रो माटोमा शीर उठाएर हिड्न दिने पक्षमा छैनौं,’ उनले भने। 

नेपाल कम्युनिष्ट पार्टीका नेता एबं पूर्ब उपमेयर प्रेम बहादुर शाहले नैतिकता नभएका नेताका कारण दिपायलको राजधानी खोसिएको बताए। ‘आफ्नै पार्टीका सांसदहरुका विरुद्धमा बोल्न परिराछ। यी सांसदहरु पदका लागि आमा बेच्न पनि पछि नपर्ने रहेछन्,’ उनले भने, ‘नैतिकता नभएपछि कस्लाई के भन्न सकिन्छ र? यो अपमानजनक निर्णयको जति बिरोध गरेपनि कम हुन्छ।’

प्रकाशित: २९ आश्विन २०७५ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App