काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका क्रममा मंगलबार बेलुका संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद–साम्यवाद दुवै राजनीतिक प्रणालीमा देखिएको संकटको अध्ययनका क्रममा भट्टराई अमेरिका प्रस्थान गरेका हुन्।
अमेरिका बसाइको क्रममा भट्टराईले त्यहाँका विभिन्न राज्यमा पुगेर त्यहाँका प्रवुद्ध–प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एसियाकाबारेमा जानकारी राख्नेसँग भेटघाट र छलफल गर्नेछन्।
लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपालीसँग छलफल गर्ने योजना बनाएका भट्टराई असोज २२ गते नेपाल फर्कनेछन् । नेपाल जस्ता अति कम विकसित देशलाई छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर भट्टराई विभिन्न देशको अनुभव र अध्यनमा सक्रिय छन्।
प्रकाशित: २७ भाद्र २०७५ ०१:४० बुधबार