१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

सैन्य अभ्यास सहमति भएको छैन : प्रधानमन्त्री

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा वलीले हालै नेपालमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनका क्रममा कुनै पनि देशका सेनासँग संयुक्त रुपमा सैन्य अभ्यास गर्ने सहमति नभएको प्रस्ट पारेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले सैन्य अभ्यासमा सहमति भएको भन्ने विषयको आलोचना गर्दै प्रधानमन्त्रीसँग जवाफ मागेपछि उनले त्यस्तो अभ्यासमा सहमति नभएको बताएका हुन्।

अहिले सैन्य अभ्यासको कुरा कहाँबाट आयो भन्दै यसलाई बिमस्टेकसँग नजोड्न आग्रह गरे। हाम्रो संयुक्त सैनिक अभ्यास भारत, पाकिस्तान, चीन अमेरिकासँग संयुक्त सैन्य अभ्यास पहिल्यैदेखि हुने गरेको उनले बताए। प्रधानमन्त्रीले भने, ‘नेपाली सेनालाई संयुक्त राष्ट्रसंघमा पठाउनुभन्दा अघि हामीले ट्रेनिङ लिनेदिने गर्नुपर्छ, त्यसभन्दा बाहेक कुनै सैन्य अभ्यास भएको छैन। हामी ‘सैन्य प्याक्ट’ मा बस्दा पनि बस्दैनौं । यहाँ कनेक्टिभिटिको कुरा छ, आपसी सहयोगको कुरा छ।’ यसै प्रसंगमा उनले भने, ‘भारतले हाम्रा प्रधानसेनापतिलाई बोलाउँछ, मानार्थ सेनापति दिन्छ र एउटा तरबार दिन्छ। नेपालले भारतीय प्रधानसेनापतिलाई बोलाउँछ, मानार्थ प्रधानसेनापति दिन्छ र एउटा तरबार दिन्छ।’ उनले थपे, ‘हामी विभिन्न देशका सेनालाई सैनिक ट्रेनिङ दिने गर्छौं, अहिलेदेखि होइन उहिल्यैदेखि यस्तो ट्रेनिङ गरिँदै आएको हो। हाम्रा सैन्य कलेजमा विभिन्न देशका सेना पढ्न आउँछन्, पढेर पास भएर जान्छन्।

नेपालमा सैन्य कलेज त छँदैछ । अब डिफेन्स कलेजबारेमा सोच्दैछौं।’

उनले बिमस्टेक सम्मेलन सफल भएको पनि बताए। प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदहरुले भने बिम्स्टेक सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको र रिट्रिट पनि तोकिएको ठाउँमा गर्न नसकेको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए। कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले बिम्स्टेकको कुनै अजेन्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारेको निर्णयले नेपाली सशंकित भएको बताए। कांग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरेका थिए।

प्रकाशित: २० भाद्र २०७५ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App