२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आठ संवैधानिक आयोग गठन प्रक्रिया सुरु

काठमाडौं – संविधान जारी भएको तीन वर्ष पुग्नै लाग्दा बल्ल सरकारले नयाँ आठ संवैधानिक आयोग गठन प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद् सचिवालयले आठ संवैधानिक परिषद्का अध्यक्ष र सदस्यका लागि सार्वजनिक रुपमा दरखास्त आह्वान गरेको छ । कम्तीमा ४५ वर्ष उमेर पुगेकाले आयोगको अध्यक्ष र सदस्यका लागि निवेदन दिन सक्नेछन्।

‘संवैधानिक निकायको देहाय (अध्यक्ष र सदस्य) को पदमा नेपालको संविधानबमोजिम नियुक्त हुन योग्यता पुगेका व्यक्तिको अभिलेख तयार गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयको सार्वजनिक आह्वानमा भनिएको छ । यसअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगको अध्यक्ष तथा सदस्यका लागि दरखास्त दिन सकिनेछ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगको अध्यक्ष तथा सदस्यका लागि दरखास्त दिन सकिनेछ।

नयाँ संविधानको भाग २६ को धारा २५० देखि २६५ सम्मले समेटेका आयोगका लागि मात्रै सचिवालयले सूचना जारी गरेको हो । संविधान बमोजिम आयोगका पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले सात दिन (भदौ १२) भित्र दरखास्त दिनुपर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा गएर अनलाइनमार्फत नै निवेदनका लागि फारम भर्न सक्ने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । सो वेबसाइटमा गएर इच्छाएको आयोग र पदसहित निवेदकले वैयक्तिक विवरण, शैक्षिक योग्यता, दरखास्त दिएको पदसँग सम्बन्धित कार्यको अनुभव, बढीमा ५ सय शब्दमा आयोगसँग सम्बन्धित योगदानको संक्षिप्त टिप्पणीसहित नियुक्त हुन चाहेको पदमा नियुक्त भएको अवस्थामा पुर्याउन सक्ने योगदान, गर्न सक्ने सुधार, आवाश्यक रणनीति र रणनीति कार्यान्वयन क्रियाकलापबारेमा उल्लेख गर्नुपर्ने व्यवस्था छ।

यी आयोगको अध्यक्षका लागि कम्तीमा स्नातक उत्तीर्ण भएको हुनुपर्छ । कम्तीमा १० वर्ष आयोगसँग सम्बन्धित क्षेत्रमा क्रियाशील भई योगदान दिएको तथा नियुक्त हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने संविधानले व्यवस्था गरेको छ।

प्रकाशित: ६ भाद्र २०७५ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App