coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नगरपालिकामा सत्तापक्षकै ताला !

बाजुरा- बडिमालिका नगरपालिकामा लगाईएको ताला सातादिन पछि खुलेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अघि सारे १० बुँदे सर्त पुरा गर्न नगरपालिका तयार भएपछि असार २२ गते लगाईएको ताला शुक्रबार विहान खुलाईएको हो।

सर्वपक्षीय सरोकारवालाको उपस्थितिमा नगर प्रमुख उपप्रमुख सहीत कार्यालयको ताला नेकपाका तर्फबाट प्रतिधित्व गर्ने वडा अध्यक्षले खोलिदिएका हुन्। तेस्रो नगरसभाबाट विनियोजन गर्न लागिएको बजेटमा विभेद गरेको आरोपमा गएको शुक्रबार विहानदेखि कार्यालयमा तालाबन्दी गरिएको थियो।

बजेट विनियोजनामा समानता कायम गर्ने, सन्तुलित र मागका आधारमा बजेट विनियोजन गर्ने, बस्ती विस्तारका योजनालाई प्राथमिकता दिने र नेकपाले जितेका वडामा रकमको मात्रा बढाउने सहमतिमा ताला खोलिएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन्।

आर्थिक वर्षको समाप्तीको समय भुक्तानी प्रक्रिया अवरोध हुने हुँदा बीचमा लेखा र प्रशासन फाँटको ताला खोलिएपनि प्रमुख, उपप्रमुख र अन्य फाँटको ताला सातादिन पछि खुलाइएको ९ नम्बर वडाका अध्यक्ष विनोद कुमार विकले बताए।

राजनीतिक आस्थाका आधारमा बजेटमा विभेद गरिएको र विधि प्रक्रिया विपरित योजना छनोट गरेको आरोप सहीत नेकपाका तर्फबाट जितेका पाँच जना वडा अध्यक्षले निर्णय पुस्तिका नै नियन्त्रणमा लिएर तालाबन्दी गरेका थिए। निर्णय पुस्तिका पनि शुक्रबार नै बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रलाई बुझाइएको छ।

जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी सहीत राजनीतिक दलका नेताहरुबीच भएको सहमतिलाई नै कार्यान्वन गर्ने गरी ताला खोल्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रले बताए।

लोकतन्त्र र संविधानको मर्म अनुसार नै नगरपालिका सञ्चालन गर्न तयार रहेको नगर प्रमुखको बचनवद्धता र कमजोरी सच्याएर जाने प्रतिवद्धतालाई विश्वास मानेर नेकपाले ताला खोलेपछि सहज तरिकाले समस्या साधान भएको नेकपाका नेता काशी विकले बताए।

काम गर्दै जादाँ हुने कमी कमजोरीलाई सच्याएर जाने र दुबै पक्ष विकासमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको नगर प्रमुख पदम बडुवालले बताए। विगतलाई बिर्सेर अघि बढ्ने र नकारात्मक तरिकाले नबुझ्न सबैलाई बडुवालले आग्रह गरे।

तालाबन्दीका कारण नगरपालिकाको तेस्रो नगरसभा सातादिन पछि सरेको छ। दैनिक प्रशासकीय कामकाज नहुँदा जनताले हैरानी बेहोर्नु परेको थियो। सहमतिका लागि जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी चेतराज बराल सहीत नेकपा र नेपाली काँग्रेसका नेताहरुले दैनिक संवादलाई निरन्तरता दिएका थिए।

 

प्रकाशित: २९ असार २०७५ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App