८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

इतिहासमा बेइमानी गरेका छैनौँ, त्यसैले जित्छौँ जित्छौँ : ओली

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समीकरण २०८४ को मंसिरसम्मै रहने बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा एमालेको काठमाडौं, ललितपुर र भक्तपुर कमिटीद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

"२०८४ साल मंसिरसम्मै अहिलेको समीकरण रहन्छ, कान खुलेर सुने हुन्छ । मेरो अवधि २०८३ असारसम्म हो, म त्यस बेलासम्म प्रधानमन्त्री रहन्छु, त्यसपछि शेरबहादुरजीलाई जिम्मा लगाउँछु," ओलीले भने ।

फरक प्रसङ्गमा ओलीले केही शक्तिहरू आफू र आफ्नो पार्टीविरुद्ध अनवाश्यक रूपमा भ्रम छर्न लागिपरेको बताए । तर, एमाले सचेत पार्टी भएको उल्लेख गर्दै उनले भने, "कागले कान लग्यो भन्दै एमाले कागको पछि दगुर्दैन, पहिले आफ्नो काम छाम्छ । कम्बोडियामा कति अर्ब छ भन्द्‌या छ, के भन्द्‌या छ । के साँच्चै बहस गर्न तयार हो ?" 

उनले सरकारका तर्फबाट कहीँ-कसैप्रति दूरभाव नरहेको बताए । दोषीलाई नछाड्ने र निर्दोषीलाई नछुने नीति सरकारको रहेको उनले बताएका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा ३८ दिनयता प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, "आफू बदमासी गर्ने अनि अरुको टाउकामा खन्याउने, मुख छाड्ने ।"

उनले एमालेप्रति शृङ्खलाबद्ध प्रहार गर्न खोजिए पनि एमाले निरन्तर अगाडि बढ्ने बताए । "इतिहासमा कुनै कमजोरी गरेका छैनौँ । त्यसैले हामी जित्छौँ, जित्छौँ । हामी हार्दैनौँ," उनले भने ।

प्रकाशित: ७ मंसिर २०८१ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App