७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘शक्ति प्रदर्शन’को औचित्य पुष्टि गर्न एमाले महासचिवका नौ प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्ने उद्देश्यले  प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह गरेका छन् । एमालेले शुक्रवार काठमाडौंमा गर्न गइरहेको ‘जागरण सभा’ सुरु हुन लाग्दा बिहान फेसबुकमा एक अभिव्यक्ति सार्वजनिक गर्दै महासचिव पोखरेलले यस्तो आग्रह गरेका हुन् । 

स्ट्याटसमा महासचिव पोखरेलले विभिन्न नौ वटा प्रश्न समेत राखेका छन् । जसमा एमालेले ‘सार्वजनिक जस’ लिन दाबी गर्दै आएका विभिन्न कामबारेका सवाल सोधिएका छन् । 

पहिलो प्रश्नमा उनले ‘नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कु प्रचार किन र कसको प्रायोजनमा भइरहेको छ ?’ भनी प्रश्न गरेका छन् । 

त्यसपछि दोस्रोमा के नेकपा(एमाले) स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?, तेस्रोमा नेपालको विकास र समृद्धिका लागि मेगा परियोजनाहरू अघि बढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गÞलत हो ? भनेर प्रश्न गरेका छन् । 

यस्तै उनले चौथोमा नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलियतपूर्ण ऋण सहायता लिनु के गÞलत हो ?,  पाँचौँमा नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू जडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गर्नु गलत हो ?, छैटौँमा के भारतको कलकत्ता पोर्टको विकल्पका रूपमा भारतबाट थप बन्दरगाह प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?, सातौँमा के नेपालले भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअर रुटको माग गर्नु गलत हो ?, आठौँमा के नेपालले आफूलाई स्वाधीन राष्ट्रका रूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ? र नवौँमा के राष्ट्रको विकास र समृद्धिका लागि सहुलियतपूर्ण ऋण सहायता परिचालन गर्नु गÞलत हो ? भन्ने प्रश्न उठाएर शुक्रवारको प्रदर्शनको औचित्य पुष्टि गर्न कोसिस गरेका छन् । 

‘यदि यसो गर्नु गÞलत लाग्छ भने नेकपा एमालेको विरोध जायज हुन सक्छ,’ त्यसपछि पोखरेलले अगाडि लेखेका छन्, ‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ । काम गर्नेलाई हौसला देऊ । कमीकमजोरी भए सुझाव देऊ ।’ विकल्प भए पनि ‘विकल्प देऊ’ भन्दै उनले अगाडि भनेका छन् ।

‘अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरूप प्रायोजित रूपमा सिर्जित षडयन्त्र र भ्रमबाट समाज र राजनीतिलाई मुक्त गरौं,’ पोखरेलले लेखेका छन् । 

सत्ताको नेतृत्वकर्ता दलले कामबाट जबाफ दिनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै अहिले एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । यस्तो बेला त्यो आरोपलाई खण्डन गर्न पोखरेलले यो अभिव्यक्ति दिएको देखिन्छ ।  

प्रकाशित: ७ मंसिर २०८१ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App