राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेहरूकै कमजोरीका कारण लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन नहुने बताएका छन्। शासन र सत्तामा बस्नेहरूले नै त्यसको चिरहरण गरेको आरोप लागिरहेका बेला राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा ‘नेपालका निधि’ नामक पुस्तक विमोचन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन र सत्तामा बस्ने अझै पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताएका हुन्। त्यसले मात्र व्यवस्था बलियो हुने उनको तर्क छ।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हासिल गर्न देश र जनताप्रतिको प्रतिबद्धता आवश्यक रहेको पनि औंल्याए। त्यसले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधानले परिकल्पनाअनुसार समावेशी र समृद्ध तथा आधुनिक नेपाल बनाउन सकिने बताए। त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै पौडेलले भने, ‘सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शाश्वत मूल्यमान्यता र पवित्रतालाई धुमिल बनाउन दिनुहुँदैन।’
पछि परेका नागरिकको हित तथा नागरिकको जीवन स्तरमा सुधारले मात्र यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतामा आशा र भरोसा जगाउनुपर्ने पनि उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न जनताको ठूलो त्याग र बलिदानी रहेको जनाउँदै राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि बिपी कोइराला, राममनोहर लोहियासहित नेताबाट प्रभावित रहेको पनि उल्लेख गरे। राणाशासनको अन्त्यदेखि पञ्चायती व्यवस्था मात्र होइन, सामाजिक पछौटेपनबाट मुलुकलाई अघि बढाउन निधिले महत्त्वपूर्ण भूमिका खेलेको पौडेलले उल्लेख गरे।
निधिका बारेमा लेखिएको उक्त पुस्तक विमोचन समारोहमा उनका छोरा तथा कांग्रेस नेता विमलेन्द्र निधि र लेखक किशोर नेपालले पुस्तकको विश्लेषणका साथै महेन्द्रनारायण निधिले पु¥याएको योगदानको चर्चा गरेका थिए।
प्रकाशित: ६ मंसिर २०८१ ०९:४५ बिहीबार