मुलुकले एक दशकसम्म बेहोरेको रक्तपातपूर्ण सशस्त्र द्वन्द्व थामिएको बुधबार १८ वर्ष पुगेको छ। तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र विद्रोह २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतासँगै विधिवत् रूपमा अन्त्य भएको थियो।
२०६२/६३ को जनआन्दोलनको म्यान्डेटअनुसार प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले राज्य पक्षबाट र विद्रोही माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।
बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा त्यो सम्झौता भएको थियो। देशले बेहोरेको रक्तपातपूर्ण इतिहासको अन्त्य गर्दा हलमा उपस्थित सबै नेता कार्यकर्ता उत्साहित र प्रसन्न थिए। तर, त्यो दिन एक नेताको भने साह्रै नै चित्त दुखेको थियो।
उनी हुन्, तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपाल। शान्ति सम्झौताको त्यो क्षणलाई फर्केर हेर्दा अहिले पनि जताततै केही तस्बिर पाइन्छन्। विभिन्न तस्बिरमा अघिल्लो लाइनमा बसेर कोइराला र दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका देखिन्छन्। कोइरालाको छेउमा बसेर शेरबहादुर देउवा केही बोलिरहे जस्तो गरीको दृश्य देखिन्छ।
तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन छेउबाट खुसी मुद्राका साथ हस्ताक्षर गरिरहेको ठाउँ तर्फ हेरिरहेका छन्। सबै औपचारिक पोसाकमा छन्। अघिल्लो मात्र होइन, पछिल्ला लाइनमा बसेका नेताहरूले समेत कोट भिरेका छन्। तर बेखुस रहेका नेता नेपाल अघिल्लो लाइनमा नै गजधम्म बसेका छन्। अनौपचारिक पहिरन ज्याकेटमै सम्झौता समारोहमा पुगेका छन्। बृहत् शान्ति सम्झौता हुन लागेकामा नेपाल बेखुस थिएनन्।
त्यो शान्ति सम्झौताको वातावरण बनाउन उनको योगदान कुनै नेताको भन्दा कम नभएको जानकारहरू बताउने गर्छन्। बरु त्यो वातावरण बनाउन उनी अग्रणी भूमिका निर्वाह गर्नेमध्येका एक थिए।
यस कारण रिसाए नेता
नेपालले आफू त्यो दिन दुखी हुनुको राज यसै वर्ष प्रतिनिधिसभामा खोलेका छन्। साउन ३० गते प्रतिनिधिसभामा प्रस्तुत भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै नेपालले आफ्नो मनको बह पोखेका थिए।
शान्ति प्रक्रियाको इतिहास सम्झँदै नेपालले ‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया’ नभएको टिप्पणी गरेका थिए। २०६२ मंसिर ३ गते भएको सहमतिका लागि आफू कात्तिक अन्तिममा दिल्ली पुगेर माओवादी अध्यक्ष दाहाललाई फोन गरेको बताएका थिए।
त्यहाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल भएको र त्यहाँ नभए केरला जानेसम्मका विकल्पमा सोचिएको भएको नेपालले स्मरण गर्दै नेपालले त्यो दिन भनेका थिए, ‘त्यहाँ वामपन्थीको सरकार थियो। कम्युनिस्ट पार्टी हाम्रो भातृत्व भएको पार्टीको सरकार थियो। केन्द्र सरकारको थिएन।’
अहिले नेपालमा भारतको सहयोगमा भएको हल्ला चलाइएको भन्दै नेपालको असन्तुष्टि देखिन्थ्यो। उतीबेला आफ्नो सहयोगीका रूपमा हाल प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेको नेपालले बताएका थिए।
‘मेरो सहयोगी अहिलेको प्रधानमन्त्री केपी ओली जी, कृष्णप्रसाद सिटौलाजी हुनुहुन्थ्यो। सहमति भएपछि नेपाल आएर थुनामा बस्नुभएका शेरबहादुर देउवाजीसँग कुरा भयो। उहाँले केही शब्द थप्न भन्नुभयो,’ नेपालले स्मरण गरेका थिए। ‘त्यसो हुनाले साना दुःखले आर्ज्याकाे मुलुक होइन भनेजस्तै साना दुःखले गरेको शान्ति प्रक्रिया होइन, सबैलाई चेतना भया,’ नेपालले अगाडि भनेका थिए।
त्यही जगमा २०६५ मंसिर ५ को शान्ति सम्झौता भएको नेपालको भनाई थियो। ‘यही हलमा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। त्यहाँ दुई वटा पक्षको मात्र होइन हामी सहभागी भएकाहरूको पनि हस्ताक्षर राख्नुस् भनेको थिएँ,’ उनले भनेका थिए, ‘त्यहाँ हाम्रै साथीले पनि गल्ती थियो।’
उनको इशारा केपी शर्मा ओली लक्षित थियो। ओलीकै कारण शान्ति सम्झौताको दस्ताबेजमा आफ्नो नाम नसमेटिएकामा नेपालले आफूलाई रिस उठेको आशय दिएका थिए। त्यसपछि आफू रिसाएर त्यो कार्यक्रममा आउन नचाहेकोसम्म नेपालले सुनाएका थिए।
‘म आउन चाहेको थिएन। गिरिजाबाबुले र प्रचण्डले फोन गरेर तपाईं आउनुस् आउनुस् हामी पर्खिरहेका छौं भनेपछि आएको हुँ,’ नेपालले भनेका थिए, ‘आए पनि म रिसाएको थिएँ। म रिस लुकाउन सक्दिनँ, त्यसैले म त्यस फोटोमा रिसाएको आएको छु।’
प्रकाशित: ५ मंसिर २०८१ २०:१५ बुधबार