रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको समेतको समर्थनमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेका तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत लोक हमालले जानकारी दिए । ‘उम्मेदवारी फिर्ता लिन निवेदन आएको छ । अन्तिम कारबाही हुन बाँकी छ,’ उनले भने ।
रोकाले उम्मेदवारी फिर्ता लिएपछि आफ्ना उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । घर्ती निर्वाचित भएर माओवादी केन्द्रले खाता खोलेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत सामाजिक सञ्जालमा बधाई दिएका छन् ।
तर, घर्ती निर्विरोध भए-नभएको अझै टुङ्गो लागी नसकेको निर्वाचन अधिकृत हमालले जानकारी दिए । ‘यहाँ तीन जनाको उम्मेदवारी परेको थियो । एक जनाको उम्मेदवारी फिर्ता लिएको निवेदन आएको छ । अझै उम्मेदवारी फिर्ता लिने समय बाँकी छ,’ उनले भने,‘तीन बजे पछि मात्रै थाहा हुन्छ ।’
रुकुम माओवादीको सशस्त्र द्वन्द्वकालीन आधार क्षेत्र हो । २०७९ को स्थानीय तह निर्वाचनमा यो वडामा माओवादीका जसबहादुर श्रीपालि २३४ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गरेका थिए ।
प्रकाशित: ५ मंसिर २०८१ १३:२३ बुधबार