राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अति कम विकसित मुलुक (एलडीसी) को सूचीमा हुँदा पनि आर्थिक वृद्धिमा पर्याप्त प्रगति गर्न नसकेको बताएका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘एफएनसीसीआई इनोभेसन संवाद’ कार्यक्रममा बोल्दै सचिव मरासिनीले एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्ने बताएका हुन्।
उनले एलडीसीका सूचीमा रहेका अन्य देशहरूले आर्थिक वृद्धिमा उल्लेखनीय फड्को मारेको चर्चा गर्दै नेपालले भने सोही समयमा खासै उपलब्धि हासिल गर्न नसकेको बताए।
सचिव मरासिनीले भने, ‘नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौं। तर, एलडीसीमा हुँदा पनि हामीले आर्थिक वृद्धिको क्षेत्रमा अपेक्षित प्रगति गर्न सकेनौं। अन्य मुलुकहरू आर्थिक रूपमा माथि पुगिसकेका छन्, तर नेपालले आय वृद्धिमा सुधार गर्न सकेन। अन्य दुई सूचकमा सुधार भएकाले मात्रै स्तरोन्नति सम्भव भएको हो। अब, पुनः एलडीसीमा नझर्ने र दीर्घकालीन रूपमा अगाडि बढ्ने आधार तयार गर्न आवश्यक छ।’
उनले मुलुकको व्यापार र नवीनतम उद्यमको विकासलाई स्तरोन्नतिको मुख्य आधारका रूपमा परिभाषित गरे। शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्दै निजी क्षेत्रलाई सहुलियत दिनुपर्नेमा उनले जोड दिए। साथै, युवाहरूलाई नवीन आविष्कारका लागि अवसरहरू प्रदान गर्न सरकारले नलेजवेस अर्थतन्त्रलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए।
सचिव मरासिनीले थपे, ‘सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुका साथै निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ। व्यापार र नवीनतम उद्यमको विकास गरेर मात्रै मुलुकलाई दीर्घकालीन रूपमा समृद्ध बनाउन सकिन्छ।’
प्रकाशित: ३ मंसिर २०८१ १४:०८ सोमबार