प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन्। ज्ञानेश्वरस्थित सानो गौचरण पुगेर ओलीले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
श्रद्धाञ्जली अर्पण गर्दै ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे। श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन्। ढुङ्गानालाई श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस सभापति शेरवहादुर देउवा पनि गौचरन पुगेका छन्।
देउवाले ढुङ्गानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्। सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेल्नुभएको स्मरण गर्दै उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए । “उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भने।
दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ।
सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै सरकारले ढुङ्गानाको निधनको शोकमा आज शोक बिदा दिएको छ। ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
प्रकाशित: ३ मंसिर २०८१ १३:०१ सोमबार