३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

अलैँचीको मूल्य दैनिक उकालो लाग्दै

‘कालो सुन’ नामले परिचित पूर्वी नेपालको प्रमुख उत्पादन नगदेवाली अलैँचीको मूल्यले यसवर्ष दिनहुँ रेकर्ड बनाउन थालेको छ। ६ वर्ष यताकै उच्च मूल्य पाइरहेको अलैँचीको मूल्य कात्तिक लागेयता निरन्तर बढी रहेको हो। साबिकका वर्षहरूमा अलैँचीको मूल्यमा घटबढको उतारचढाव देखा पर्ने गरेकोमा यसवर्षको पछिल्लो एक महिना मूल्य निरन्तर उकालो मात्र लागिरहेको छ।

ताप्लेजुङका अलैँची व्यवसायी कमल बरालका अनुसार सोमवार ठूलो दानाको अलैँची प्रतिमन(४० किलोग्रामको) १ लाख ६ हजार रुपैयाँमा कारोबार भयो। उनका अनुसार जेजे क्वालिटीको अलैँचीको मूल्य प्रतिमन १ लाख ३ हजार र चालू अर्थात् सालाखाला चलनचल्तीको अलैँची प्रतिमन १ लाख रुपैयाँका दरले कारोबार भएको बरालले जानकारी दिए। यसबर्ष उत्पादनको सुरुमै अलैँची बजारमा आउँदा ८० हजार रुपैयाँ प्रतिमनका दरले भाउ थियो। यही दरले अलैँचीको मूल्यमा वृद्धि हुँदै गए पूर्वी पहाडमा उत्पादन हुने मुख्य नगदेवाली मानिएको अलैँचीको मूल्यले २०६७ र २०७५ सालको रेकर्ड ब्रेक गर्ने सङ्केत देखाएको छ।

२०६७ सालमा गुणस्तरीय र ठूलो दानाको अलैँचीको मूल्य १ लाख १८ हजार रुपैयाँ प्रतिमन सम्म पुगेको थियो। त्यो नै अलैँची बिक्रीको इतिहासमै सर्वाधिक मूल्य थियो। २०७५ सालमा भने १ लाख ४ हजार रुपैयाँ प्रतिमन सम्ममा अलैँचीको कारोबार भएको थियो। तेस्रो बजारले मूल्य निर्धारण गर्ने हुँदा नेपाली बजारमा अलैँचीको मूल्यमा दैनिक रूपले उतारचढाव समेत आउने गरेको छ। यसले किसान तथा व्यवसायी दुबै व्यवसायिक मारमा पर्छन्।

नेपालबाट निर्यात हुने अलैँचीको ठूलो हिस्सा भारत जान्छ। भारतीय व्यवसायीले नेपाली अलैँची वंगालादेश तथा अन्य खाडी मुलुकहरूमा बिक्री गर्ने गर्छन्। धान,गहुँ जस्ता खाद्य उत्पादनको झैँ अलैँचीको आफ्नै समर्थन मूल्य नहुँदा अलैँचीको व्यवसायिक कारोबार तेस्रो बजार निर्भर हुने गरेको छ। यही कारण अलैँचीको मूल्यमा उच्च तहसम्मको उतारचढाव हुने व्यवसायीहरूको ठम्याई छ। मुलुकभर १२ हजार ५ सय ८ हेक्टरमा अलैँची खेती हुँदै आएको पाइएको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

कुल खेतीमध्ये कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लामा मात्र ११ हजार ६ सय ७ हेक्टर क्षेत्रमा रहेको छ। अलैँचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार ५ सय २० मेट्रिकटन रहेको छ।   कोशी प्रदेशमा मात्र ६ हजार ९५.९ मेट्रिकटन उत्पादन हुँदै पाइएको छ। कूल उत्पादनको ९३ दशमलव ४९ प्रतिशत अलैँची उत्पादन कोशी प्रदेशमा हुने गरेको छ। ताप्लेजुङमा ४ हजार ५ सय हेक्टरमा अलैँची खेती हुने गरेको छ। ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लाको रुपमा परिचित छ। 

प्रकाशित: ३ मंसिर २०८१ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App