नेपाली महिला यू-१९ क्रिकेट टिमकी कप्तान पूजा महतोलाई गौशाला नगरपालिकाले नागरिक अभिनन्दन तथा नगर परिक्रमा गराएको छ।
गौशाला नगरपालिका वडा नं.११ बाट सुरु गरिएको नागरिक अभिनन्दन अन्तर्गत नगरबासीले कप्तान महतोलाई टोल-टोलमा स्वागत गरेको वडा नं.११ का वडाअध्यक्ष रामपृत महतो कोईरीले जानकारी दिए।
नेपाललाई विश्वसमक्ष चिनाउनका लागि सफल गौशालाकी चेली पूजालाई सम्मानस्वरुप नागरिक अभिनन्द गरेको वडाध्यक्ष कोईरीले जानकारी दिए। उनलाई नगरबासीले बधाई दिँदै अगामी दिनमा अझ सफलता प्राप्त गर्ने आशीर्वाद दिएका छन्। कप्तान महतोलाई गाडीमा राखेर नगरबासीले नगर परिक्रमा गराएका छन्।
इमलीबजारबाट सुरु गरेको विजयी यात्रा गौशाला नगरपालिकाको नगर परिक्रमा गर्दै पुनः इमलीबजारमा गई समापन भएको थियो।
गृह जिल्ला पुग्दा महोत्तरी क्षेत्र नम्बर १ का सांसद लक्ष्मी महतो, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतो, उपप्रमुख रेणु महतो लगायत नगरबासीले फुल माला लगाई भव्य स्वागत गरेका हुन्।
पूजाको कप्तानीमा यूएईलाई हराउँदै आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्न सफल भएको छ। नेपालले अगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने यु–१९ महिला टी–२० विश्वकप र डिसेम्बरमा मलेसियामै हुने यु–१९ महिला एसिया कप खेल्न अवसर पाउनेछ।
प्रकाशित: ३ मंसिर २०८१ १७:०४ सोमबार