६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुर उपनिर्वाचन : मुख्य चार दलबीच प्रतिस्पर्धा

आउँदो मङ्सिर १६ गते हुन गईरहेको स्थानीय तह उपनिर्वाचनमा उदयपुरको रिक्त २ वटा वडाध्यक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार तय गरेको छ । त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त रहेको वडाध्यक्ष पदका लागि रास्वपाले उम्मेदवार तय गरेको हो ।  

प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भन्दा पछि रास्वपाले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । पार्टी जिल्ला सभापति चित्र कार्कीका अनुसार त्रियुगा १२ मा ध्रुब पोखरेललाई उम्मेदवार बनाएको छ भने बेलका ९ मा तेजुलाल विश्वकर्मा उम्मेदवार बनेका छन् । कार्कीले पुराना दलहरुभन्दा रास्वपाको जग बलियो भएको दावी गर्दै आफ्नो पार्टीका उम्मेदवारहरु विजयी हुने ठोकुवा गरे ।  

यता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवार उठाएको छ । त्रियुगा १२ मा नेकपा (एस)ले निर्मला चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाउने टुङ्गो लगाएको पार्टी प्रदेश कमिटी सदस्य पशुपति चौधरीले बताईन् । बेलका ९ मा भने नेकपा एसले एकल उम्मेदवार उठाउने या कसैसँग गठबन्धन गरेर जाने भन्ने यकिन नभईसकेको जनाइएको छ ।  

प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले त्रियुगा १२ मा क्रमशः सञ्जिव काफ्ले, लक्ष्मीनारायण चौधरी र नविनकुमार राईलाई टिकट दिएका छन् । त्यसैगरी बेलका ९ मा कांग्रेसले नवीन बस्नेतलाई, एमालेले मनोज खड्कालाई र माओवादीले भरत घिमिरेलाई टिकट दिसकेको छ ।  

निर्वाचन आयोगले मंसिर २ गते मनोनयनको समय तोकेपछि दलहरुले धमाधम उम्मेदवार तय गर्न थालेका छन् ।  

प्रकाशित: २९ कार्तिक २०८१ १९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App