१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले इलामको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

नेकपा (एमाले)को इलाम जिल्ला नेतृत्व चुन्न ११औं अधिवेशन आजदेखि सुरु हुँदैछ। इलाम सदरमुकामस्थित सिटी हलमा भोलिसम्म अधिवशेन चल्नेछ।

पार्टी केन्द्रीय उपाध्यक्ष गुरु बरालले मध्याह्न १२ बजे अधिवेशन उद्घाटन गर्ने एमालेले जनाएको छ। स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्यहरू रामबहादुर रानामगर, तारा गुरुङलगायतका नेताहरु अधिवेशनमा सहभागी हुनेछन्। अधिवेशनको सबै तयारी पूरा भएको पार्टी सचिव उमेश गुरुङले जानकारी दिए।

उपसचिव रवीन्द्र सुवेदीले अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुने बताए। अरू जिल्लामा छ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिएपनि इलाम क्षेत्र २ मा गत वैशाख १५ गते उपनिर्वाचन भएका कारण यहाँको जिल्ला अधिवेशन स्थगित थियो।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। अध्यक्षमा ११औं अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा.देवी क्षेत्री दुलालले उम्मेदवारी दिने भएका छन्। दुलालले सहमति भएमात्र आफू अध्यक्ष हुने तर निर्वाचनमा नजाने बताएका छन् भने बराल र भट्टराईबीच निर्वाचन हुनसक्ने एमाले जिल्ला कमिटीका एक पदाधिकारीले बताए। ‘अध्यक्षमा सहमति हुने सम्भावना थोरैमात्र छ,’ ती नेताले भने, ‘बराल र भट्टराईबीच निर्वाचन हुनसक्छ।’

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन्। रमेश राईले आफू व्यक्तिगत नभई निर्वाचन क्षेत्र १ को प्रतिनिधित्व गरेरै उम्मेदवारी दिने दाबी गरेका छन्। तर, उदयबहादुर राई र उमेश गुरुङ पनि निर्वाचन क्षेत्र १ कै बासिन्दा हुन्। सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारीले उम्मेदवारी दिने भएका छन्। उपसचिवमा भने नौ जनाभन्दा बढीको लर्काे छ।

यसअघिका सबै अधिवेशनमा इलाम गृहजिल्ला भएका ‘हेभिवेट’ नेताहरू पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन एमाले केन्द्रीय उपाध्यक्षसमेत सहभागी हुन्थे। यो अधिवेशन चाहिँ पहिलो पटक खनाल र नेम्बाङको अनुपस्थितिमा हुँदैछ। खनाल एमालेमा छैनन् भने नेम्बाङको गतवर्ष निधन भएको छ। ‘हेभिवेट’को मियो नहुँदा जिल्ला नेतृत्व लिन होडबाजीझैं देखिएको छ। नेताहरू ‘अघोषित’ रूपमा फरक गुट बनाएर उम्मेदवारी दिने तयारीमा देखिएको एक नेताले जानकारी दिए। ‘बाहिर त गुट देखिँदैन तर अघोषित फरक गुटबीच प्रतिस्पर्धा हुनसक्छ,’ ती नेताले भने।

जिल्लाका सबै ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटीबाट प्रतिनिधि छानिएको प्रतिनिधि व्यवस्थापन समिति संयोजकसमेत रहेका जिल्ला सचिव गुरुङले जानकारी दिए। धेरैजसो वडा र कमिटीहरूमा सर्वसम्मत् रूपमा प्रतिनिधि छानिएपनि कतिपयमा निर्वाचनप्रक्रियाबाटै छानिएका छन्। 

प्रकाशित: २९ कार्तिक २०८१ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App