६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

रवि लामिछानेलाई भैरहवा ल्याइयो, सुरक्षा व्यवस्था कडा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केही बेर अघि भैरहवा ल्याइएको छ। लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको हो।

बिहान ७.४५ बजेको बुद्ध एयरको विमानबाट भैरहवा ल्याउने तयारी भएपनि मौसम खराबीका कारण रविलाई मध्यान्ह साढे १२ बजेपछि भैरहवा ल्याइएको हो। बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेलगत्तै कडा सुरक्षाकाबीच लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जितसिंह राठौरले लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयानका लागि लगिएको जानकारी दिए।

लामिछानेलाई कति दिन रुपन्देहीमा राखिन्छ भन्ने सम्बन्धमा बयानमा भर पर्ने उनले बताए। ‘बयान सकिए लगत्तै हामीले उहाँलाई पोखरा पठाउने गरी तयारी गरेका छौं’ एसपी राठौरले बताए।

स्रोतका अनुसार उनलाई मंगलबार र बुधबार भैरहवा राखेर बयान लिने गरी तयारी गरिएको छ।

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडीया मार्फत अपचलन गरेको अभियोगमा उनीविरुद्ध गत कार्तिक ८ मा जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो।

बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड  २९ लाख रुपैँया मध्ये जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको सम’हले गोर्खा मिडीयामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा छ।

यसैबीच,लामिछानेलाई भैरहवा ल्याउने तयारीसँगै भैरहवा र आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सोमबारै सुरक्षा समितिको बैठक बसेर विमानस्थल, सरकारी वकिलको कार्यालय परिषर, जिल्ला अदालत वरपरको सुरक्षा व्यवस्थालाई कडा पार्ने र अवश्यकता परे सरकारी वकिलको कार्यालय वरपर निश्चित क्षेत्रमा निषेधित क्षेत्र घोषणा गर्ने तयारी पनि गरिएको श्रोतले बताएको छ।

त्यसैगरी, पार्टी सभापती लामिछानेलाई भैरहवा ल्याएसँगै रास्वपाले भैरहवामा विरोध प्रदर्शन गरेको छ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरी अनावश्यक रुपमा हिरासतमा राखेको भन्दै रास्वपाका जिल्ला तथा प्रदेशका नेता कार्यकर्ताहरुले भैरहवा स्थित विमानस्थल नजिकै लुम्बिनी रोड क्षेत्रमा प्रदर्शन गरीरहेका छन्।

प्रदर्शनकारीले  राष्ट्रिय झाण्डा र विभिन्न नारा लेखीएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै लामिछानेको रिहाइको माग गरेका छन्।  

प्रकाशित: २७ कार्तिक २०८१ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App