ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले अम्बि साउदेनलाई उम्मेदवार बनाउने लगभग पक्का पक्की भएको छ।
साउदेन अहिले सिरिजङ्गा गाउँपालिका वडा नं. ३ का वडा सदस्य हुन्। वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीमा गएयता साउदेनले कार्यवाहक वडाध्यक्षको समेत भूमिका निर्वाह गर्दै आएका छन्।
साउदेनले अब उम्मेदवारी दर्ता गर्नुअघि वडा सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ।
‘हामीले अन्तिम निर्णय गरेका छैनौं,वडाबाट उहाँको नाम आएको छ’नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले भने।
साउदेनको नाम अनुमोदनका लागि अहिले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ।
२०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी सहितको गठबन्धन थियो। सोहि गठन्धनबाट चुनाव लडेका साउदेन वडा सदस्यमा निर्वाचित भएका थिए। नेकपा एमालेले यसअघि नै कुमारी साउदेनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ।
प्रकाशित: २६ कार्तिक २०८१ १३:२३ सोमबार