२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिकैचाको उपनिर्वाचन: एमाले, कांग्रेस र माओवादीबीच तीब्र प्रतिस्पर्धा, रास्वपा छलफलमा

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्षका लागि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा जुटेका छन्। विशेष गरेर नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच यहाँ प्रतिस्पर्धा तीब्र देखिन्छ।

वडा तह र पालिका कमिटीले उपनिर्वाचनको गृहकार्य गरिरहेको बताउँदै कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले जिल्ला कार्य समितिमा भने उम्मेदवार चयनको विषयमा एजेण्डागत छलफल नभएको बताए । वडा र पालिकाको राय बुझ्ने र जिल्ला तहमा पनि छलफल सुरु गर्ने योजना रहेको उनले बताए।

२०७९ सालको निर्वाचनमा तीन मतले मात्र पराजित भएको एमालेले वडा तहको छलफल थालेको छ। ‘सबैको राय बुझ्न थालिएको छ,अब वडा तहको छलफल पछि सायद सम्भावित नाम तय होला’ एमाले जिल्ला सचिव सन्तोष चाम्लिङले भने।

एमाले जिल्ला उपाध्यक्ष दीपेन्द्र पोमू९दीपेन०ले यसअघि वडाध्यक्षका प्रत्यासी कुमारी साउदेन पहिलो प्राथमितामा रहने संकेत गरे। ‘अरु साथीहरु पनि आकांक्षी हुनुहुन्छ। उम्मेदवार बारे अन्तिम टुङ्गोमा पुगिएको छैन। गठबन्धको समयमा पनि झिनो मतान्तरले पराजित भएको उम्मेदवारलाई मौका दिनुपर्ने राय पार्टीमा बलियो छ,’ पोमूले भने। उनले वडा हुँदै पालिकामार्फत उम्मेदवारको अन्तिम निर्णय जिल्ला कमिटीले जानकारी दिए।

माओवादी केन्द्रका सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावोले वडा नम्बर तीनको वडाध्यक्षका लागि उम्मेदवार छनोट गर्न आन्तरिक छलफल सुरु भएपनि निश्कर्षमा नपुगेको जानकारी दिए। ‘अहिले गठबन्धनको कुरा छैन । हाम्रो उम्मेदवार हुन्छ, तर को हुन्छ भन्ने विषय छलफलकै क्रममा छ,’ मावोले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठले आफ्नोतर्फबाट सिकैचाको वडाध्यक्षका लागि उम्मेदवारी रहने वा नरहने विषयमा छलफल थालिएको बताए । ‘यो विषय छलफलकै क्रममा छ। उम्मेदवार बारे जिल्ला र पालिका तहको कमिटीबीच छलफलपछि मात्र निर्णयमा पुगिने छ’ श्रेष्ठले भने।

यसअघिका वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएको र उतैबाट असोज १८ गते राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज९विपिन० दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदानस्थलमा ५ सय २ जना गरी सिकैचामा यसपटक कूल १ हजार ५ सय २८ जना मतदाता छन्। यद्यपी, मतदाताको आधिकारिक तथ्याङ्क भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्दा मात्र यकिन हुने दुलालले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८१ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App