९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विद्या भण्डारी पार्टी राजनीतिमा कहिले ?, योगेश भन्छन्: ओलीको सहमति र प्रस्तावमा भर पर्छ

‘रविको पक्राउ प्रतिशोधपूर्ण भन्नु बेइमानी’

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएर नेतृत्व गर्ने वा नगर्ने विषय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने बताएका छन् । पूर्व राष्ट्रपति भण्डारी आफैँ पनि यस विषयमा निर्णयमा नपुगिसकेको बताउँदै भट्टराईले निर्णयमा पुगेकै खण्डमा पनि अध्यक्ष ओलीको सहमति र प्रस्ताव नभई सम्भव नहुने बताएका हुन् । 

शुक्रवार ताप्लेजुङमा महिला पत्रकारसँग अन्तर संवाद कार्यक्रममा पत्रकारहरूले भट्टराईलाई राष्ट्रपति भण्डारीलाई सक्रिय गराएर फेरी वाम एकताको पहल सुरु भएको र त्यसमा भट्टराई नै पहल गरिरहेको भन्दै प्रश्न गरेका थिए ।

जसको जवाफमा बोल्दै नेता भट्टराईले भने, ‘अहिले हाम्रो पार्टी अध्यक्ष र अभिभावक उहाँ(ओली) नै हो । उहाँको धारणाका हिसाबले निर्णय हुन्छ । पूर्व राष्ट्रपति पार्टी नेतृत्वमा आउने नआउने विषय पनि पार्टी अध्यक्षकै प्रस्ताव र सहमतिमा आधारित हुन्छ ।’ 

रास्वपा सभापति लामिछानेको पक्राउको प्रसङ्गमा भट्टराईले संसदीय छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउँदै अनुसन्धान प्रतिशोधपूर्ण भन्नु राजनीतिक बेइमानी हुने टिप्पणी गरे ।

अर्को प्रसङ्गमा भट्टराईले आउँदो पुस–माघतिर चालू आर्थिक वर्षको बजेट पुनरावलोकनका लागि मध्यावधि समीक्षा हुने बताए । उनले बजेट पुनरावलोकनका क्रममा देशभरका स्थानीय तहको पालिका र जिल्ला सदरमुकाम जोड्ने बाटो कालोपत्रे गर्ने योजनाका लागि बजेट विनियोजन हुने समेत दाबी गरे । 

‘हामीमा कायम रहेको यो अवधारणा विगतको सरकारको प्राथमिकतामा नपरेकोले पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने योजना बजेट पुनरावलोकनका क्रममा सम्बोधन हुने छ।’ उनले भने । 

ताप्लेजुङको विकासका सन्दर्भमा भट्टराईले प्रधानमन्त्री केपी ओली र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई भेटेर हेंवाखोलामा बेलिब्रिज वा पक्की पुल निर्माणको प्रक्रिया तत्काल थाल्न अनुरोध गरेको बताए । 

यस्तै तमोर कोरिडोर, बहा नन्दे–दोभान सडक, लिम्बुनी पुल, सुकेटार–काफ्ले पाटी सडक, मेची राजमार्गअन्तर्गत पर्ने सुकेटार–गढी डाँडा–थिवा सडक र फावा खोला–तेल्लोक सडक निर्माण तथा स्तरोन्नतिका लागि आफूले पहल लिइरहेको पनि भट्टराईले बताए । 

जिल्लाका साझा समस्याको हलका लागि आफूले काठमाडौंमै रहेर निरन्तर समन्वय गरिरहेको भट्टराईको भनाई थियो । पाथीभरा क्षेत्रमा केवल कार निर्माणको विषय समेत उठान भएको भट्टराईले जानकारी दिए ।

प्रकाशित: ९ कार्तिक २०८१ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App