११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व प्रतिस्पर्धामा को-को ?

सहिदका छोराछोरीलाई नेतृत्व हस्तान्तरण गरौ : मैनाली

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बिहीबार देखि २३औं सम्मेलनमा विद्यार्थी नेताहरू नेतृत्व प्रतिस्पर्धामा जुटेका छन् । पार्टीका नेतादेखि विद्यार्थी प्रतिनिधिलाई खुसी बनाएर संगठनको नेतृत्वमा पुग्न आधा दर्जन बढि नेताहरू लागि परेका छन् । 

पार्टीका नेताहरूले पनि विद्यार्थी नेताहरू च्यापिरहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व सहमतिका आधारमा चयन गर्न लागिपरेका छन् । नेता वर्षमान पुनसहितलाई साथमा लिएर दाहालनिकट विद्यार्थी नेतालाई नेतृत्वमा पुर्‍याउने रणनीतिमा रहेको स्रोतको दाबी छ । तर, नेता जनार्दन शर्मा सहितकाहरू दाहाल रणनीतिलाई असफल बनाउने रणनीतिसहित सक्रिय भएका छन् । असोज १४ गतेसम्म चल्ने अनेरास्ववियु क्रान्तिकारीको सम्मेलनले ३३ पदाधिकारीसहित २ सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्दै सकिनेछ ।

देशभरीबाट २३ सय बढी प्रतिनिधि सहभागी सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीणा अधिकारी, सूर्यनारायण साह, दिपेश पुनसहितका सक्रिय छन् । पार्टीका केही नेताहरूले महासचिव दिपेश पुनलाई अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा पुर्‍याउन चाहेको भन्दै विद्यार्थी प्रतिनिधिहरूले नै आलोचना गर्दै आएका छन् । पुन सहकारी ठगी प्रकरणमा तानिएका छन् । त्यस्तै, पम्फा भुसाल र महासचिव देवप्रसाद गुरुङ समूह रेग्मीलाई अघि सार्ने तयारी गरेका छन् भने नेता नारायणकाजी श्रेष्ठ पवन कार्कीको पक्षमा उभिनसक्ने विश्लेषण विद्यार्थी प्रतिनिधिको छ । विद्यार्थी संगठनमा शर्मा पक्ष बलियो रहेको नेताहरूको बुझाइ छ ।

तर, शर्मालाई निकटहरूको व्यवस्थापन नै सबैभन्दा चुनौतीपूर्ण रहेको बताइएको छ । शर्मानिकट मानिएका मैनालीले निशन्देह आफ्नो अध्यक्षमा दावी रहेको जनाउँदै इकाइ कमिटीको अध्यक्षदेखि संगठनका सबै पदमा बसेर काम गरेको अनुभव रहेका बताउँदै आएका छन् ।  १८औँ राष्ट्रिय सम्मेलनमा हिमाल शर्माको नेतृत्वमा बनेको कमिटीमा केन्द्रीय सदस्य उनी केन्द्रीय समितिमै १६ वर्षदेखि काम गरिरहेका छन् ।

‘हाम्रो संगठनमा एउटा परम्परा र इतिहास छ । अखिल (क्रान्तिकारी) त्यही इतिहास र परम्पराले अन्यभन्दा भिन्न संगठन हो । संगठनमा मैले यति वर्ष लगानी गरेँ, त्यसैले मलाई फलानो पद चाहियो भनेर यहाँ कसैले भन्दैन,’ उनले भने,‘यो संगठनमा अझै पनि दाजु गुमाएका भाइहरू छन् । काखमा रहेको बच्चाले यो आन्दोलनमा आफ्नो आमा र बुबा दुवै गुमाएको छ, तर उनीहरू अतिरिक्त माग नगरी संगठनमा सबैसरह पालो कुरेर बसिरहेका छन् । 

उनीहरूका बिचमा कोही एउटा व्यक्तिले म मात्र अध्यक्षको दाबेदार हुँ, म मात्र योग्य हुँ र मैले मात्र संगठन हाँक्न सक्छु भन्नु संगठनको इतिहास र परम्परा कुल्चनु हो ।’ मैनालीले आफ्ना आमाबुबा गुमाएका सहिदका छोराछोरीलाई यो संगठनको नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

 ‘उनीहरूलाई जति यो संगठनको माया कसैलाई छैन,’ उनले भने,‘उनीहरूले जति यो आन्दोलन र त्यसको नेतृत्वलाई कसैले पनि सहयोग गर्न सक्दैन । किनभने उनीहरूका लागि यो आन्दोलन र पार्टी नै सबै थोक हो ।’ आन्तरिक विवाद र व्यवस्थापन मिलाउन नसक्दा अनेरास्ववियु क्रान्तिकारीको शुक्रबारको बन्दसत्र अझै शुरु हुन सकेको छैन ।

प्रकाशित: ११ आश्विन २०८१ १६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App