३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘संविधान दिवस’बारे मधेसकेन्द्रित दल: सरकारमा हुँदा चुपचाप विपक्षमा हुँदा ‘कालो दिन’!

संविधान दिवस असोज ३ मा पर्दछ। कहिले कालो दिवस, कहिले चुप बस्ने नीति अपनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसपटक संविधान दिवसको विरोध गर्ने भएको छ। केन्द्र सरकार र मधेस सरकार दुवैबाट बाहिर रहेको जसपाले यस वर्ष संविधान दिवस मनाउने नीति पनि फेरेको छ।

यसपटक आफ्नो संगठनको उपस्थिति भएका सबै जिल्लामा अन्तरक्रियालगायतका कार्यक्रम गरेर जसपा नेपालका नेताहरूले संविधान दिवसको विरोध गर्ने भएका छन्।

पोहोर साल संविधान दिवसमा जसपाका नेताहरू चुप लागेर बसेका थिए। उक्त दिन देशभरि कुनै कार्यक्रम गरेका थिएनन्। न समर्थन न दिवसका रूपमा जसपाका नेताहरूले संविधान दिवस मनाउँथे। पोहोर सालसम्म मधेस प्रदेश सरकारको नेतृत्व जसपा नेपालले गरेको थियो। मधेस प्रदेशको पहिलो कार्यकालको नेतृत्व पनि जसपाले नै गरेको थियो।

त्यतिबेला संविधान दिवसका दिन कार्यक्रम हुँदा मधेस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरू दिनभरि घरमै बस्ने गर्थे। कर्मचारी भने कार्यक्रम मनाउँथे। कर्मचारीले गरेका कार्यक्रममा जसपाका मन्त्रीहरू सहभागी हुँदैनथे, तर यस वर्ष भने संविधान संशोधनको माग राख्दै जसपाका नेताहरूले देशभर अन्तरक्रिया कार्यक्रम राख्ने भएका छन्।

अन्तरक्रिया कार्यक्रममार्फत संविधान दिवसको विरोध गर्ने पार्टीको नीति भएको जसपाका उपाध्यक्ष मृगेन्द्र सिंह यादवले बताए। ‘यस वर्ष हामीले अन्तरक्रियामार्फत विरोध जनाउँछौं। संविधानसँग हाम्रो असहमति कायमै छ’, उनले भने।

पार्टी स्रोतका अनुसार यस वर्ष असोज ३ दिनलाई कालो दिवस भनेर शब्द राख्ने किन राख्ने भन्नेमा जसपाले अझै टुंगो लगाएको छैन, तर विरोध प्रकट भने गर्ने भएको छ। जसपाले सुरुदेखि नै संविधान संशोधनको माग राख्दै आएको छ।

अर्को तराई–मधेसकेन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले विगतका वर्षहरूमा झैं यस वर्ष पनि असोज ३ लाई कालो दिवसका रूपमा मनाउने भएको छ। यस वर्ष लोसपा सरकारमा सहभागी भएको छ। लोसपाबाट शरत्सिंह भण्डारी श्रम तथा रोजगारमन्त्री भएका छन्।

संविधानअनुसार पार्टी सरकारमा सहभागी हुने तर कालो दिवस मनाउने लोसपाले नीति बनाएको छ। ‘हामीले सुरुदेखि नै संविधान दिवासलाई कालो दिवसका रूपमा मनाउँदै आएका छौं। यस वर्ष पनि कालो दिवस मनाउने निर्णय गरेका छौ’, लोसपाका महासचिव मनीष मिश्रले भने।

अर्को तराई–मधेसकेन्द्रित दल जनमत पार्टीले संविधान दिवसको दिन पोहोर जसपा नेपालले जुन नीति लिएको थियो, यस वर्ष त्यही नीति लिने भएको छ। यस वर्ष जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरेको छ।

उक्त सरकारमा नेपाली कांग्रेस र एमाले सहभागी छन्, तर जसपा नेपाल सरकारमा सहभागी छैन। ‘यस वर्ष हामीले संविधान दिवसको दिन कुनै कार्यक्रम राखेका छैनौं। कालो दिवस पनि मनाउँदैनौं। संविधान दिवस पनि मनाउँदैनौं’, जनमत पार्टीका प्रवक्ता डा. शरत्सिंह यादवले भने। उनका अनुसार संविधान संशोधन हुनुपर्छ भन्ने पार्टी नीति कायमै छ।

२०७२ असोज ३ गते संविधान जारी हुँदा तराई–मधेसकेन्द्रित दलहरूले संविधानको कडा विरोध गरेका थिए। सुरुसुरुमा ती दलहरूले संविधानको प्रति जलाएर कालो दिवस कार्यक्रमलाई सक्रिय रूपमा मनाउने गर्थे।

पछि कालो दिवस मनाउने चलन विस्तारै नरम हुँदै गएको छ। संविधान स्वीकार गरेर दुईपटक तराई–मधेसकेन्द्रित दल चुनावमा सहभागी भइसकेका छन् र पटकपटक सरकारमा पनि सहभागी भएका छन्। यस अवधिमा तराई–मधेसकेन्द्रित दलहरूले मधेस प्रदेश सरकारको नेतृत्व आफैंले गरिरहेका छन्।

प्रकाशित: १ आश्विन २०८१ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App