१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विकासका लागि सत्ता–प्रतिपक्ष सँगसँगै अगाडि बढ्छौं: अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकासे आयोजनाहरूमा राजनीति गर्न नहुने बताएका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अत्याधुनिक भवनको शनिबार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकास निर्माणको सबालमा सत्तापक्ष–प्रतिपक्ष मिलेरै अगाडि बढ्नुपर्ने बताएका हुन्।

विकासका काममा सत्ता–प्रतिपक्ष सँगसँगै हिँड्ने भन्दै उनले आम नागरिकले पनि जनस्तरबाट निगरानी गर्नुपर्ने बताए। महत्वपूर्ण आयोजनाहरूमा ढिलासुस्ती र गुणस्तरहीन काम हुने गरेको भन्दै उनले नागरिक समाज, मिडिया, स्थानीय सरकार र प्रदेश सरकारले विशेष निगरानी गर्नुपर्नेमा जोड दिए।

निर्माणाधीन अस्पताल भवनको काम समयमै सक्न र गुणस्तरमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए। ‘यो अस्पताल प्रदेशकै गौरवको आयोजना हो, ६ अर्ब १८ करोडको लगानीमा भवन बन्दै छ, निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्नुस्, गुणस्तरमा कुनै प्रकारको सम्झौता नगर्नुहोला’, निर्माण कम्पनीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भने।

आयोजना लिँदा तोकेको समयभन्दा छिटो पूरा गर्छौं भन्ने तर काममा ढिलासुस्ती गर्ने प्रवृत्ति मौलाएको भन्दै उनले तोकीएको समयमा तोकिएकै गुणस्तरमा काम गर्न ठेक्केदार कम्पनीलाई निर्देशन दिएका हुन्।

त्यसअघि निर्माण कन्पनीका प्रतिनिधिले ठेक्का अवधि पाँचबर्से भए पनि तीन वर्षमै निर्माण सम्पन्न गरिसक्ने भनेर भाषण गरेपछि अर्थमन्त्री पौडेलले बोलेर होइन काम गरेर देखाउन निर्देशन दिएका हुन्।

प्रदेश सरकार र प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पनि तोकिएको मापदण्डअनुरूपको काम तोकिएकै समयमा सम्पन्न गराउनेतर्फ गम्भीर हुन आग्रह गरे। भवन निर्माणसँगै अस्पतालको प्रभावकारी व्यवस्थापन र सञ्चालनमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्दै उनले संघ सरकारको तर्फबाट पूर्ण साथ र सहयोग रहने बताए।

अर्थमन्त्री पौडेलले यो अस्पताल बुटवलकै गेमचेन्जर आयोजना हुने दाबी पनि गरे। रूपन्देहीलाई विकासको हव बनाउन खोजेको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो आयोजनाका लागि बजेटमा कमी हुन नदिने बताए। लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती, प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बोल्दै बाह्रतले अत्याधुनिक भवन निर्माणसंगै लुम्बिनी प्रादेशिक अस्पताल देशकै नमुना अस्पतालका रूपमा स्तरोन्नति हुने बताए।

प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि ६ अर्ब १८ करोड ७५ लाखको लागतमा निर्माण हुने बाह्रतले भवनको शनिबार शिलान्यास गरिएको हो।

भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्यापासाइट  र नेपाली कम्पनीहरू आशिष, रेलिगेर भेन्चरसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते ठेक्का सम्झौता गरेको हो। ठेक्का अवधि पाँच वर्षको छ। २०८५ पुससम्म अस्पताल भवन निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। अहिले अस्पालका पुराना संरचना हटाएर भवन निर्माणको काम सुरु भएको छ।

बाह्रतले भवनको दुईतला अन्डरग्राउन्ड हुनेछ। छतमा हेलिप्याड हुने छ। हेलिप्याडबाट इमर्जेन्सीसम्म पुग्न सुविधासम्पन्न लिफ्ट राखिने प्रदेशको पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए।

१२ सय शय्याको भवनमा अत्याधुनिक बाहिरंग (ओपिडी) सेवा, इमर्जेन्सी सेवा, इन्डोर सेवा, ग्याष्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा सञ्चालन हुनेछ। क्यान्सर उपचारका लागि अर्को पाँचतले भवन बन्ने छ।

१२ सय शय्या स्तरोन्नति गर्न लागिएको आयोजनाको पूर्वाधार, उपकरण र व्यवस्थापनसहित गरी कुल आर्ट अर्ब ९९ करोड ७५ लाख बढी लागत लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: १५ भाद्र २०८१ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App