३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

विश्वप्रकाश भन्छन्: रुवाबासी चले चलोस् तेस्रो पटक प्रधानमन्त्री बन्न पाउनुहुन्न !

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धेरै पटक प्रधानमन्त्री बन्ने खालको अवस्था हटाउनुपर्ने मत दोहोर्‍याएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले आफ्नो पुरानै बोली पुनः दोहोर्‍याएका हुन्।

‘कांग्रेसको अहिले १,२,३,४ भन्ने सुन्नुभएको होला। यो देशमा खालि प्रधानमन्त्री उनैउनै उनै अनुहारहरू भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ,’ कांग्रेसको महासमिति बैठकमा आफ्नो प्रतिवेदनमा राखिएको प्रस्तावबारे बोल्दै महामन्त्री शर्माले भने, ‘त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु। कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पनि अब धेरै पटक बन्ने सुन्नुपर्ने दिनको अन्त गर्नुपर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ? उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ।’

जतिसुबै लोकप्रिय व्यक्ति भएपनि यो व्यवस्थाअनुसार दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने व्यवस्था गर्नुपर्ने भन्दै यो व्यवस्थाका लागि जनताबाट दबाबको आह्वान गरे। ‘त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन,’ महामन्त्री शर्माले भने।

कांग्रेसभित्र यो प्रस्ताव राख्दा अलिअलि समस्या र विवाद भइरहेको महामन्त्री शर्माले बताए। ‘यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि (आइतबार) कांग्रेसको केन्द्रिय समितिबाट पास हुन्छ,’ उनले भने।

त्यो दृष्टिकोण अहिले कांग्रेसले बनाए पछि सबै राजनीतिक दलहरूलाई प्रभाव गर्ने महामन्त्री शर्माले दाबी गरे। अहिले नै पार्टीले दृष्टिकोण नबनाए संविधान संशोधनको समयमा वा उपयुक्त समयमा छलफल गर्नेगरी त्यसलाई त्यतातिर लैजानेगरी अघि बढिने उनले बताए।

महामन्त्री शर्माको यो प्रस्ताव आइतबार बस्ने केन्द्रीय समितिले पारित नगर्ने लगभग निश्चित भइसकेको छ। तर, कांग्रेसभित्र नेताहरूबीचमा यो प्रस्तावबारे उपयुक्त समयमा छलफल गर्ने सहमति भएको भने स्रोत बताउँछ।

प्रकाशित: १५ भाद्र २०८१ १५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App