भारतको हरिद्धारमा आयोजित पाँच दिने प्रबुद्धजन योग विज्ञान शिविरमा बर्दियाका चार जना पालिका प्रमुख सहभागी भएका छन्।
पतञ्जलि योगपीठको आयोजनामा साउन ३२ गतेदेखि सुरु भएको शिविरमा सहभागी हुन ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल, राजापुरका नगर प्रमुख दीपेश थारु, बाँसगढीका नगर प्रमुख खड्क बहादुर खड्का, र बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी हरिद्धार पुगेका हुन्।
पाँच दिने योग साधनका लागि पन्तन्जलि मार्फत हरिद्धार पुगेका बर्दियाका पालिकाका प्रमुख पाटिमा फरक भएतापनि आस्थामा भने एक साथमा देखिएका छन्।
ठाकुरबाबाका लम्साल नेपाली कांग्रेस, बासँगढीका खड्का एमाले र माओवादीका तर्फबाट राजापुर नगरपालिका नगर प्रमुख चौधरी र बढैयाताल गाउँपालिकाका अध्यक्ष त्रिपाठी नव निर्वाचित जनप्रतिनिधि छन्।
यस पाँच दिने योग साधनामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी पनि सहभागी भएका छन्। फरक-फरक राजनीतिक आस्थाका यी प्रमुखहरू एकसाथ योग साधनामा सरिक भएका हुन्। उक्त शिविर नेपालका बौद्धिक वर्गका लागि आयोजना गरिएको उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा ती प्रमुखहरूले योगसाधना र हरिद्धार भ्रमणको गतिविधि साझा गरेका छन्। शिविरमा सहभागी हुँदै ठाकुरबाबा नगर प्रमुख लम्सालले पतञ्जलिले विकासका क्षेत्रमा ज्ञान प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।
हरिद्धारको यस योग शिविरमा बर्दियाका आठ पालिका प्रमुखमध्ये चार जना मात्रै सहभागी भए, जबकि अन्य चार प्रमुखहरू कार्यव्यस्तताका कारण अनुपस्थित रहे।
भारतमा सञ्चालित योग साधनामा ड्रेस कोर्ड सहित उपस्थित पालिका प्रमुखको साधना सकिएको छ। शिविर समापनपछि प्रमुखहरू नेपाल फर्कनेछन्।
प्रकाशित: १ भाद्र २०८१ २१:२० शनिबार