५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

हिंसा पीडित महिलाहरूलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग सांसदहरूको माग

सांसदहरूले हिंसा पीडित महिलाहरूलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली  कांग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)की सांसद थममाया थापा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद कल्पना मियाँ कुसारी लगायतका सांसदहरूले सो माग गरेका हुन । 

सरकारको नेतृत्व गरिरहेका एमालेकी सांसद एवं पूर्व मन्त्री थापाले केन्द्र र प्रदेशमा मन्त्री स्तरको र स्थानीय तहमा पालिका प्रमुखको नेतृत्वको तत्काल संरचना बनाई महिला हिंसा लगायतका जघन्य अपराधका घटना रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिइन।उनले महिलाहरूलाई आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि आवश्यक पर्ने भएकाले पनि महिलाहरूको अधिकार सुनिश्चित गर्न सरकारले बलियो संरचना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन। 

सत्तारुढ नेपाली कांग्रेसकी सांसद खातुनले पनि स्थानीय तहले अधिकार पाएर पनि महिलाहरूको अधिकारको क्षेत्रमा काम गर्न नसक्दा उनीहरुले धेरै पीडा व्यहोर्नु परेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन । उनले महिलाहरूले बलात्कार लगायतका जघन्य अपराधको घटनामा पनि न्याय पाउने अवस्था नभएकाले सरकारले न्यायको प्रत्याभूति हुने गरी सामाजिक परिचालकहरूको परिचालनको कामलाई अघि बढाउनुपर्ने बताइन।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद कल्पना मियाँ कुसारीले महिला सामाजिक परिचालिका खारेज गर्ने विगतका सरकारको निर्णयप्रति आपत्ति जनाइन। उनले महिलाहरूको समस्या बुझ्ने र सम्बोधन गर्ने खालको निकायको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन ।

सांसद कुसारीले सरकारले महिलाहरूको अधिकारको बारेमा जिम्मेवार भएर काम गर्नुपर्नेमा पनि जोड दिइन । 

प्रकाशित: ३२ श्रावण २०८१ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App