२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

युवाहरूको विदेश पलायन रोक्न सरकारले रोजगारीको सिर्जना गर्छः मन्त्री मगर

रौतहट – खानेपानीमन्त्री विना मगरले वर्तमान सरकारले जनताले आफूप्रति राखेका आशा र अपेक्षा पूरा गर्ने बताएकी छन्। मौलापुर नगरपालिकालाई रौतहटको पहिलो खुला दिसामुक्त नगरपालिका घोषणा गर्न पुगेकी मन्त्री मगरले समतामुलक तथा समृद्ध नेपाल निर्माण गर्ने अपेक्षासहित जनताले वाम गठबन्धनलाई झन्डै दुई तिहाइ मत दिएको र त्यो आशा मर्न नदिने बताइन्।

‘समतामूलक समाजको निर्माण, समान न्याय र समृद्ध नेपाल तथा सबै वर्ग, क्षेत्र, जाती र लिंगको समान पहिचान सुनिश्चित हुन्छ भन्ने आशासहित मत दिनुभएको हो,’ जनताको आशालाई मर्न नदिने प्रतिबद्धतासहित उनले भनिन, ‘वाम गठबन्धन सरकारले तपाईहरूको आशा, अपेक्षा र विश्वासलाई डगमगाउन नदिन सरकार नेपाल परिवर्तनको अभियानमा अगाडि बढ्नेछ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले प्रदेश २ मा महिला नगर प्रमुख भएको एकमात्र नगरपालिका मौलापुर उदाहरणीय भएको भन्दै आफू पुगेका अन्य नगरपालिका भन्दा पृथक नगरपालिका भएको टिप्पणी गरिन।

‘म धेरै नगरपालिका पुगेकी । धेरै नगरपालिका प्रमुखसँग छलफल भएको छ। तर यो नगरपालिका मैले पृथक पाएकी छु,’ उनले थपिन, ‘म उहाँलाई धन्यवाद दिन चाहान्छु, समाज परिवर्तनमा एउटा महिलाको भूमिका यसैगरी सफलताका साथ अगाडि बढ्नुपर्छ।’ 

मन्त्री मगरले मौलापुर नगरपालिकालाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन। सानो उमेरमा नै विवाह गर्ने चलन प्रदेश २ मा मात्रै नभएर नेपालभरी भएको र त्यसलाई अन्त्य गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिइन। 

फरक प्रसंगमा मन्त्री मगरले युवाहरूलाई विदेशीनबाट रोक्न नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन। उनले भनिन, ‘यहाँका युवाहरू विदेशीन बाध्य छन्। हाम्रा दाजुभाईहरू विदेशी भूमिमा ज्यान जोखिममा राखेर काम गर्न बाध्य छन्। यसको अन्त्य गर्ने बेला आएको छ। यो सरकारले अब युवाहरूको विदेश पलायनलाई रोक्नेछ। युवाहरूलाई आफ्नै धर्तीमा, आफ्नै ठाउँमा केही गरेर खानसक्ने रोजगारीको सिर्जना गरिदिनेछ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु शाह, प्रदेशसभा सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा मन्त्री मगरले नगरपालिकाका तर्फबाट गरिब महिलाहरूलाई सिंचाइका लागि पानी तान्ने मोटर र धुँवामुक्त भान्साका लागि ग्यास सिलिन्डर र चुल्हो पनि हस्तान्तरण गरेकी थिइन्।

प्रकाशित: १४ चैत्र २०७४ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App