१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा राप्रपा नेपालमा प्रवेश

राप्रपा नेपाल र नेपाल जनता पार्टीको धिरेन्द्र झा समूहबीच एकता भएको छ । आइतबार एक कार्यक्रम गरी दुवै समूहले सहमतिपत्रमा हस्ताक्षर गरे ।  

सहमतिपत्रमा भनिएको छ,  'देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक एवं सम्बर्धनवादी शक्ति निर्माण गर्ने उद्धेश्यका साथ नेपाल जनता पार्टी धिरेन्द्र झा समूह आज २०८१ असार १६ गतेबाट राप्रपा नेपालमा समाहित भएको, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा मन, वचन र कर्मले सशक्तरुपमा क्रियाशील रहने हामी प्रतिवद्धता व्यक्त गर्दछौ । राष्ट्रियता, प्रजातन्त्र र सम्बर्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुनेछ । सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास हाम्रो प्राथमिकता रहने  तथा सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त्य तथा कृषि, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न हामी प्रयत्नशील रहने छौं ।'

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताए । राप्रपा नेपालका नव उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्न कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए ।  

सहमति अनुसार नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा राप्रपा नेपालको पनि उपाध्यक्ष हुनेछन् । साथै योग्यता, क्षमता र प्रभावकारीता हेरेर पदाधिकारी ,केन्द्रीय सदस्य, विभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानीय तहहरुमा सम्माननजनक जिम्मेवारी र भूमिका प्रदान गरिने सहमति भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।

प्रकाशित: १६ असार २०८१ १६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App