१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आगामी आर्थिक वर्षको बजेटबारे राय माग्दै आठराई त्रिवेणी गाउँपालिका

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरू जनताको गुनासो सुन्न वडा–वडा पुग्न थालेका छन्।  

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमूले जनप्रतिनिधीले नागरिकको गुनासो सुन्दैनन् भन्ने नागरिकमा निर्माण भएको भाष्य तोड्न आफुहरु वडा–वडा पुग्न थालेको बताए।

उनका अनुसार गाउँपालिकाले प्रदान गरिरहेको सेवा प्रवाह, जनप्रतिनिधि र कर्मचारी जनताप्रति उत्तरदायी भए/नभएको विषयमा जनताको गुनासो सुन्न र जनताको पक्षमा सेवा प्रवाह हुने वातावरण बनाउने उदेश्यका साथ टोलटोलमा पुग्ने अभियान सुरु भएको हो।

साथै पालिकाले सञ्चालन गरेका योजनाको प्रभावकारिता मापन गर्न पनि यस अभियानले सहयोग पुग्ने उनको भनाइ छ।

उनले गुनासो सुन्नुका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयका बारेमा पनि जनताका रायसुझाव लिन यस अभियानले सहयोग पुग्ने बताए।

गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ आर्थिक बर्षको अन्त्यतिर एक आर्थिकवबर्षमा प्रवाह भएको सेवा सन्तुष्टीबारे जनताको अभिमत लिनु उपयुक्त देखेर आफुहरु जनताका घरदैलौमा पुग्न थालेको बताउँछिन्।

‘पालिकाले प्रदान गरिरहेको सेवा प्रवाहको अवस्था मापन गरी सुधार गर्नुपर्ने बिषयका बारेमा जानकारी हाँसिल गर्नु यो अभियानको प्रमुख उद्देश्य हो’आङवुहाङले भनिन्।

पालिका अध्यक्ष पोमू जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकोले स्थानीय सरकारलाई जनताकै सरकार भएको अनुभूत हुनेगरी काम गर्न आफुहरुले जनताका बीचमा जाने र उनीहरुका गुनासो,राय तथा सुझाव ग्रहण गर्ने अभियान थालेको बताउँछन्।

उनले आगामी आर्थिक बर्षको नीति,कार्यक्रम तथा बजेट बनाउने तयारीमा रहेको बेला जनताले दिएका सुझावका आधारमा कार्यक्रम तथा बजेट बनाउने विश्वास समेत दिलाएका छन्।

एक आर्थिक वर्षभरी सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रभावकारिता मापन तथा सञ्चालित योजना तथा कार्यक्रम जनताका पक्षमा स्थापित हुन सके या सकेनन् भनेर मूल्याङ्कनका लागि पनि आफुहरु वडा–वडाका बासिन्दासंगको छलफलमा रहेको अध्यक्ष पोमूले बताए।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई चालू आर्थिक बर्षका अधिकाँस योजना तथा कार्यक्रमको कार्यान्वयन सकिन लागेकोले तिनीहरुको अवस्थाकको अनुगमन तथा सेवा प्रवाहको अवस्था विश्लेषणका लागि पनि पालिकाको टिम यो बेला जनताका अघि प्रस्तुत भएको बताउँछन्।

जनताको गुनासो, सुझाव र राय सङ्कलन गरेर सोहि अनुसार जनताका पक्षमा काम गर्ने वातावरण यस अभियानले पूरा गर्ने भट्टराईको विश्वास छ।

यस अभियानमा वडाभरी सञ्चालित योजना तथा कार्यक्रमको मुख्य जवाफदेहि वडापालिकालाई बनाईएको छ।

आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ जनताका गुनासो सुन्न तथा उनीहरुका राय र सुझाव लिन हिच्किच गर्ने गलत परम्परा विपरित आठराई त्रिबेणीको अहिलेको सरकारका पदाधिकारी जनताका बीचमा पुगेको बताउँछन्।

‘हामी जनताका माझ जान्छौं, गुनासो सुन्छौं, सुझाव सङ्कलन गर्छौं र समस्या भए सुधार गर्छौ, उपयुक्त सुझाव कार्यान्वयनमा पनि ल्याउँछौं’आठराई त्रिबेणी गाउँपालिको सामाजिक विकास समिति संयोजक समेत रहेका सेन्दाङले भने।

वडा नं १ का वडाध्यक्ष रामप्रसाद पाठक जनताका गुनासो सुन्न डराउने नभई उनीहरुका गुनासोको उचित सम्बोधन र उपयुक्त रायको ग्रहणले मात्र सेवा सुधारमा विश्वसनीयता कायम हुने बताउँछन्।

गाउँपालिकाले कार्यपालिका सदस्य समेतलाई विभागीय जिम्मेवारी दिएर पालिका सरकारका कामहरुमा समग्र अपनत्व बढाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार वडा नं २ फुलवारीबाट सुरु भएको जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्ने कार्यक्रम वडा नं.१ निघुरादिनमा सकिएको छ। असार ६ गते वडा नं. ५ चाँगे र असार ७ गते वडा नं. ४ चाँगेमा गुनासो र सुझाव सङ्कलन गरिने भट्टराईले बताए। 

असार ८ गते पालिकाको केन्द्र समेत रहेको वडा नं. ३ हाङपाङमा जनताको गुनासो र सुझाव सङ्कलनको काम हुने भट्टराईले बताए।

नीति तथा कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा रहेको र जनताबाट प्राप्त सुझाव समेतलाई समेटेर आगामी आवको नीति तथा कार्यक्रम तथा बजेटको अन्तिम तयारी गर्ने पालिका अध्यक्ष पोमूले बताए।

प्रकाशित: ६ असार २०८१ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App