१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

गण्डकीको नीति तथा कार्यक्रम: पुरानै योजना, पुरानै कार्यक्रमको निरन्तरता

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ। गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो।

गण्डकीको नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ प्रदेश गौरव, प्रादेशिक लोकमार्ग, स्थानीय तहको केन्द्र जोड्ने, एक निर्वाचन क्षेत्र: एक सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ। साथै सो सडक अन्तर्गत पर्ने क्षेत्रमा सडक पुल निर्माणका लागि प्राथमिकता दिईनेपनि जनाइएको छ। यसैगरी, पोखरामा सुविधा सम्पन्न बहुतले पार्किङ भवन निर्माणका लागि प्रोत्साहन गरिने भनिएको छ। एक घर एक धारा कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ। साथै विगतदेखि नै निरन्तर रहँदै आएको उज्यालो गण्डकी प्रदेश अभियानलाई यस वर्ष सम्पन्न गरिने उल्लेख छ।

प्रदेशले उत्तरगंगा र बुढी गण्डकी जलाशय परियोजना निर्माण गर्न पहल गर्ने जनाएको छ। जुन कार्यक्रम अघिल्लो वर्ष पनि परेको थियो तर त्यसको पहल वा थालनी भने भएको छैन। गण्डकीले ईन्भेष्ट गण्डकी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। जुन कार्यक्रम निजी एवम् सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने उल्लेख छ। जसका लागि परियोजनाको विकास, लगानी प्रवर्द्धन र सहजीकरण गरिने भनिएको छ।

गण्डकी प्रदेशले गिग अर्थतन्त्रको सम्भावनालाई आत्मसाथ गर्दै यसका संवाहकका रुपमा रहेका राईड सेयरिङ, कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माणलगायतका सेवालाई वैधानिकता दिने जनाएको छ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न वीमा प्रिमियममा सहुलियत र कृषि कर्जामा व्याज अनुदान कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ। प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। त्यस्तै, बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, मसला, घाँसबाली, गाँजालगायतका उत्पादन कार्यलाई प्रोत्साहन गरिने पनि उल्लेख छ।

गण्डकी प्रदेशले गाँजा खेतीको आवश्यक कानूनी व्यवस्था गर्ने जनाएको छ। तर औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि यस्तो व्यवस्था गर्न लागिएको उल्लेख छ। सरकारले माटो परीक्षण तथा मलको गुणस्तर नियमन सम्बन्धी कार्यक्रमलाई थप सघन बनाउन 'मोबाइल माटो अस्पताल’ सञ्चालन गर्ने पनि जनाएको छ। यसैगरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सम्भाव्यता अध्ययन गरी सामूहिक एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ।

गण्डकी प्रदेशले अर्ग्यानिक गाउँ निर्माण गर्ने जनाएको छ। जसका लागि नमुना गाउँ छनौट गरिने र तीमध्ये उपयुक्त स्थानलाई अर्ग्यानिक गाउँ घोषणा गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय बजारसँगको आबद्धता स्थापित गरिने उल्लेख छ। सरकारले बाँदरबाट हुने क्षेत्री न्यूनीकरणका लागि 'कृषि हेरालो’को व्यवस्था गर्ने भएको छ। बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा कृषि हेरालो कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै एक सामुदायिक वन: एक पोखरी कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रदेश सरकारले पोखराको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रलाई प्राणी उद्यान र वन्यजन्तु उद्धार केन्द्रको रुपमा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने जनाएको छ। भने ढोरपाटन सिकार आरक्षमा वन्यजन्तु उद्धार तथा प्रदर्शन केन्द्रका रुपमा स्थापनाका लागि पहल गर्ने उल्लेख छ।

प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि पोखरालाई केन्द्र बनाएर 'पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गर्ने जनाएको छ। पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोही अनुरूप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। उसले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि 'पहिले घर देश अनि परदेश कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ। जसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन, पर्यटकको सेवा र सुविधा विकास र बिस्तार गरिने भनिएको छ। साथै सो कार्यका लागि प्रचारप्रसारमा जोड दिइने जनाइएको छ।

प्रदेश सरकारले फेवाताल वरिपरिको पदमार्गलाई प्रवर्द्धनका लागि 'राउण्ड फेवा, भ्यु फेवा’ कार्यक्रमलाई निरन्तरता दिएको छ भने फेवाताल सिरानको चंखपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रुपमा ट्रस ब्रिज निर्माणका लागि पहल गर्ने जनाएको छ।

प्रदेश सरकारले 'उद्यमी बनौँ: स्वदेशमा केही गरौँ’ भन्ने अभियानमार्फत युवा जनशक्तिलाई सीपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधिसहितको स्वरोजगार हुने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति लिएको छ।

प्रदेशले सबै नीतिमा स्वास्थ्य तथा एक स्वास्थ्य नीति अवधारण कार्यान्वयन गर्ने, गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश बनाउने अभियानलाई निरन्तरता दिएको छ। स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न 'भान्छा सुधार: आरोग्यताको आधार’ भन्ने नारासहित भान्छा सुधार कार्यक्रम र योग र ध्यानको प्रवर्द्धन गरिने जनाइएको छ भने 'स्वस्थ जीवन हाम्रो अभियान’मार्फत गण्डकी जागरण अभियान सञ्चालन गरिने उल्लेख छ।

प्रदेश सरकारले शिक्षातर्फ सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। जसका लागि सामुदायिक क्याम्पसलाई क्षमता र कार्य सम्पादनको आधारमा अनुदान दिइने भनिएको छ। सरकारले सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छ।

प्रदेश सरकारले भगत सर्वजित दलित युवा उद्यमी कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छ। जस अन्तर्गत प्रत्येक वडाबाट एक जना दलित युवा उद्यमीलाई कर्जामा व्याज अनुदान दिइने उल्लेख छ। उत्पादनसँग युवा अभियान कार्यक्रमका लागि बिउ पुँजी उपलब्ध गराउने जनाइएको छ। प्रदेश सरकारले 'डिजिटल गण्डकी: बढाउनु छ रोजगारी र समुन्नति’ नारालाई मूर्त रूप दिन युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाई कार्यक्रम र फ्राइडे फर फ्यूचर कार्यक्रमलाई निरन्तरता दिएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षकमाझ सिकाउनका लागि पढाैं अभियान सञ्चालन गरिने उल्लेख छ।

प्रदेश सरकारले गण्डकी प्रदेशलाई खेलकुदको पर्यटन केन्द्रका रुपमा विकास गर्ने जनाएको छ। त्यस्तै, उच्च उचाई खेल तालिम केन्द्रका लागि पूर्वाधार निर्माण कार्यको शुभारम्भ गरिने, खेल्छ गण्डकी र स्कुल टु ओलम्पियनलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ।

प्रकाशित: २९ जेष्ठ २०८१ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App