२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयोः पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए। 

उनले अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताए। पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको सुनाए। २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको उनले दाबी गरे। अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गरे।  

उनले भने,‘अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाए। अर्थमन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन। चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट अर्थमन्त्रीले गर्नुभएको छ। बजेट निर्माणको यो दृष्टिकोणलाई राम्रो मान्छु। सहज यात्रालाई जो कसैले पनि गर्न सक्छ। चुनौती पूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु महत्वपूर्ण हुन्छ। अर्थमन्त्रीले सहज ढङ्गले काम गर्दिन। अफ्ठ्याराहरुका बीचमा काम गर्छु। मुलुकका निम्ति चुनौतीका बीचमा काम गर्ने र चुनौतीलाई पार गर्ने अठोट लिनु भएको छ। अर्थमन्त्रीले बजेटको स्रोतमा जुन प्रश्तावहरु गर्नुभएको छ त्यहाँ चुनौती सिर्जना गर्ने र पार गर्ने रहेको पाउँछु। जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ।’

‘चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन होला भन्ने अनुमान गर्न सकिन्छ । तर आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ। यो लक्ष्य सजिलो छैन। तर मेहनतका साथ राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न असम्भव पनि छैन। वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेका छौं,’ उनले भने।

यस्तै,उनले भने,‘आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित गर्नु भएको छ।  वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेका छौं। २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नुभएको छ। यो प्रस्ताव पनि चुनौतीपूर्ण छ तर असम्भव भने छैन। राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा छौं। यस्तो अवस्थामा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि छ,’ उनी भन्छन्।  

यसैबीच,पूर्वअर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताए। उनले प्रस्तुत गरिएका स्रोत परिचालन,खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने,उत्पादनका क्षेत्रहरुमा लगानी केन्द्रित गर्नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हु सक्ने दाबी गरे । अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुसँग बजेटका विषयमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाए। 

अर्थमन्त्रीले शिर्ष नेताहरुसँग छलफल गर्नसकेको भए बजेट अझ राम्रो आउने अवस्था रहेको र नयाँ चरणको आर्थिक सुधार भनिएको भन्दै त्यसलाई अझ स्पष्ट बनाएर जान आवश्यक रहेको उनको भनाइ छ। उच्च स्तरको कार्यदल गठन भन्दा पनि राजनीतिक नेतृत्वले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम गर्ने भनेर आउनुपर्ने उनले बताए।

प्रकाशित: २० जेष्ठ २०८१ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App