५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीमा राज्यको प्रतिशोध नहोस्: आईपीआई नेपाल च्याप्टर

इन्टरनेशनल प्रेस इन्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले कान्तिपुर पब्लिकेशसनस्का अध्यक्ष कैलाश सिरोहियालाई उनकै कार्यकक्षबाट गरिएको गिरफ्तारीप्रति गहिरो चासो व्यक्त गरेको छ ।

धनुषा जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार उनलाई नागरिकता कीर्ते गरेको आरोपमा पक्राउ गरेको थियो ।

गृहमन्त्री रवि लामिछानेको सहकारीको रकम हिनामिना प्रकरणमा सम्भावित संलग्नताको बारेमा कान्तिपुर र अंग्रेजी भाषाको द काठमाडौं पोष्टमा श्रृंखलाबद्ध समाचारहरू प्रकाशित भइरहेकै समयमा नेपाल प्रहरीले सिरोहियालाई गिरफ्तार गरेको छ । 

पछिल्लो समय नेपालका गृहमन्त्री रवि लामिछाने ग्यालेक्सी फोके टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा सहकारी रकम हिनामिनाको सन्दर्भमा विवादमा रहँदै आएका छन् ।

'जुन समयमा सिरोहिया प्रकाउ परेका छन् त्यसले सरकारको रवैयामाथि प्रश्न उठेको छ । यो कदम राजनीतिक प्रतिशोधको लागि लिइएको त होइन भन्ने आशंका समेत गर्न सकिने ठाउँहरू छन्,' इन्टरनेशनल प्रेस इन्स्टिच्युटका नेपाल च्याप्टर महासचिव शिरोमणि ढुङ्गानाले भने ।

'आईपीआई नेपाल च्याप्टर प्रतिशोध र राज्यशक्तिको दुरुपयोगबाट निर्देशित भएर गरिने कार्यहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरित हुने बलियो विश्वास राख्दछ । साथै सरकारलाइ यसप्रकारको क्रियाकलाप नगर्न र मिडिया जगतलाई डर बिना काम गर्ने वातावरण सृजना गर्न समेत आग्रह गर्दछ,' ढुङ्गानाले बताए ।

'अभिव्यक्ति स्वतन्त्रतासहित राजनीतिक सहभागीता, पारदर्शीता, स्वायत्त संस्थाहरुको प्रबर्धन र जवाफदेहीता लगायतको सुनिश्चितताले मात्रै लोकतन्त्र बलियो हुनसक्छ,' उनले भने, 'यस सन्दर्भमा आईपीआई नेपाल च्याप्टर सरकारलाई लोकतन्त्रको मुल्यमान्यतामा पुर्ण प्रतिवद्ध रहँदै प्रेस स्वतन्त्रता र जनताको सूचनाको हकको लागि उपयुक्त वातावरण सृजना गर्न अपिल गर्दछ ।'

आईपीआई सम्पादक तथा मिडियाकर्मीहरुको विश्वव्यापी सञ्जाल हो । यस संस्थाले प्रेस स्वतन्त्रता र सूचनाको निर्वाध प्रवर्धनको लागि विश्वका विभिन्न देशमा काम गर्दै आईरहेको छ । यसको मुख्यालय युरोपियन मुलुक अष्ट्रियाको भियनामा रहेको छ।

प्रकाशित: ९ जेष्ठ २०८१ १८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App