१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीमा रञ्जिता पक्षले कैलाश चौधरी र रेशम पक्षले लक्ष्मण किशोर चौधरीलाई उठाउने

सरकार गठन गर्न दिएको समयसीमा आज सकिँदै

सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नजिर मियॉले सरकार गठन गर्न दिएको समयसीमा आज सकिँदै छ।

केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनाउने सहमति भए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषय अन्योलमै रहेको छ।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच आआफ्ना पक्षको मुख्यमन्त्री बनाउन रस्साकस्सी चलिरहेको छ। अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि अघि सारेकी छन्। उनले कैलाश नै मुख्यमन्त्री बन्ने बताउँदै आएकी छन्।

अर्कातिर रेशम पक्षले लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अघि सारेको छ। दुई पक्षबीच मुख्यमन्त्रीका लागि रस्साकस्सी चलिरहेको छ।

६ प्रदेशसभा सदस्य रहेको नाउपामा लक्ष्मण मुख्यमन्त्री हुनुपर्ने पक्षमा ४ सांसद र कैलाश हुनुपर्छ भन्ने पक्षमा २ सांसद रहेको बुझिएको छ। रेशम पक्ष पुरानो नेपाली काग्रेससहितको गठबन्धन तोड्नु हुँदैन भन्ने पक्षमा र रञ्जिता नयाँ गठबन्धनमा जानुपर्ने विषयमा उभिँदा नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चुलिँदै आएको छ।

अध्यक्ष श्रेष्ठले समानुपातिकबाट सासंद भएकी इन्दिरा गिरीलाई कारबाही गरेर सांसद पदबाट मुक्त गरेकी छन्। लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउन सहमतिनजिक पुगेको लक्ष्मण पक्षका एक सांसदले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि चैत २३ गते प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि १० दिनको म्याद दिएर आह्वान गरेका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस १८, माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एकजना सांसद छन् भने दुईवटा सिट रिक्त छ।

प्रकाशित: २ वैशाख २०८१ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App