२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विवादबीच खगराज मुख्यमन्त्री

तीन सदस्यीय मन्त्रिपरिषद्, नजिरविपरीत मुख्यमन्त्री नियुक्त : कांग्रेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन्। नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अधिकारीलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नवनियुक्त मुख्यमन्त्री अधिकारीले आइतबार नै प्रदेश प्रमुख भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री अधिकारीले तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। उनले माओवादी केन्द्रका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गरेका हुन्।

पहिलो चरणमा मन्त्री बनेका चुमान र मनाङेले मुख्यमन्त्री अधिकारीसँगै पद तथा गोपनीयताको सपथ लिएका छन्। दुवैजना विनाविभागीय मन्त्री बनाइएको छ। चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन्। उनी यसअघि दुईपटक आन्तरिक मामिला मन्त्री भइसकेका छन्।

त्यस्तै मनाङे यसअघि चारपटक मन्त्री भइसकेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालका लागि मनाङबाट स्वतन्त्र रूपमा निर्वाचन जितेका उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गरेका थिए। अहिले उनी स्वतन्त्र सांसदको हैसियतमा छन्।

उनले आइतबार मन्त्री भएकै अवस्थामा प्रतिपक्षीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका हुन्। अधिकारीले आइतबार नै एमाले, माओवादी केन्द्र र नेकपा एसको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए।

उनलाई मुख्यमन्त्रीमा समर्थन गरेको पत्रमा सभामुख कृष्ण धिताल र मनाङेको पनि हस्ताक्षर छ। धिताल स्वयंले भने सरकार निर्माणमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन्। उनले भने, ‘सरकार निर्माणका लागि मैले हस्ताक्षर गर्न मिल्दैन। कसरी प्रयोग भयो मलाई थाहा छैन।’

नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै आपत्ति जनाएको छ। यसअघि कोसी प्रदेश सरकार गठनका विषयमा सर्वोच्च अदालतबाट स्थापित नजिरविपरीत सभामुखसहितको हस्ताक्षरमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको जिकिर कांग्रेसको छ।

अधिकारीले सभामुखसमेतको हस्ताक्षरमा मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै कांग्रेस सांसदले प्रदेश प्रमुख भट्टलाई भेटेर त्यसतर्फ ध्यानाकर्षण गराएका थिए। सर्वोच्च अदालतको नजिरविपरीत प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस अदालत जाने तयारीमा छ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले असंवैधानिक कदमविरुद्ध सर्वोच्च जाने बताए। ‘सभामुखको हस्ताक्षर गलत रूपमा प्रयोग गरिएको छ,’ उनले भने, ‘सभामुख स्वयंले सरकार गठनका लागि मैले हस्ताक्षर गरेको छैन भनिरहनुभएको छ। हामी सर्वोच्च अदालत जान्छौं।’

प्रकाशित: २६ चैत्र २०८० ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App