२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पालिका अध्यक्ष हारेका अहिर बने प्रदेश मन्त्री

गत वर्षको स्थानीय तहको चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका भण्डारीलाल अहिरले प्रतिस्पर्धीभन्दा एक हजार एक सय ४७ मतले पराजित भए।

६ हजार दुई सय ७२ मत ल्याउँदै नरेन्द्रकुमार चौधरी पालिका अध्यक्षमा निर्वाचित भए। त्यतिबेला पालिका अध्यक्षमा हार व्यहोरेका भण्डारीलाल आइतबार लुम्बिनी प्रदेशको बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन्।

पालिका अध्यक्ष हारे पनि पार्टीले भण्डारीलाललाई प्रदेशको टिकट दियो। जनता समाजवादी पार्टी (जसपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट उनी लुम्बिनी प्रदेशसभामा विजयी भए।

गाउँपालिकामा पराजित हुँदा पनि प्रदेशसभामा प्रवेश गरेका उनले राजनीतिमा त्यसभन्दा पछाडि फर्किनु परेन। उनी लगातार तीन पटक मन्त्री भए। आइतबार लुम्बिनीमा गठन भएको सानो आकारको मन्त्रीमण्डलमा पनि उनी मन्त्रीमा नियुक्त भए।

जसपाबाट सबैभन्दा बढी लाभ लिनेको सूचीमा उनको नाम अगाडि आउँछ। उनी यसभन्दा अघि कृषि तथा भूमि व्यवस्थामन्त्री थिए। उनको कार्यकालमा प्रशंसनीय काम हुन नसके पनि राजनीतिक पहुँचकै भरमा उनी लगातार तीन पटक मन्त्री बनेका छन्।

राजनीतिमा आउनुभन्दा पहिला उनले २५ वर्ष शिक्षण पेसामा बिताए। रेडियो कार्यक्रमबाट प्रभावित भएर राजनीतिमा होमिएका नवनियुक्त मन्त्री अहिरले भने, ‘हारले नै जित सुनिश्चित गर्छ। यदि मैले पालिका अध्यक्षमा हारेर राजनीतिबाट पलायन भएको भए आज यो सफलता प्राप्त हुने थिएन।’

गाउँपालिका अध्यक्षमा हार व्यहोरे पनि अर्का पटक चुनावमा प्रतिस्पर्धा गर्ने उनको इच्छा थियो। ‘पुनः पालिका अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजना थियो,’ उनले भने, ‘स्थानीय तहको चुनाव सकिएको केही समयपछि भएको प्रदेशसभाको चुनावमा पार्टीले टिकट दियो। चुनावमा प्रतिस्पर्धा गरेँ। जनतालाई जिताइ दिए।’

बिना विभागीय मन्त्री नियुक्त भएका अहिरले सुशासन र विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए। ‘जनताले जिम्मेवारी दिएका छन्,’ उनले भने, ‘भ्रष्टाचारलाई शून्यमा झार्न मेरो पहलकदमी हुने छ।’ किसानलाई आत्मनिर्भर बनाइ वास्तविक किसानलाई लाभ दिने र उनीहरुलाई प्रोत्साहन गर्ने उनको भनाइ छ।

प्रकाशित: २५ चैत्र २०८० १९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App