२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘देश परनिर्भरतातिर धकेलिंदै छ, सबै मिलेर उकासौं’

पूर्वराजा ज्ञानेन्द्र शाहले अथाह सम्पदा हुँदा हुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन जुम्ला पुगेका पूर्वराजा शाहले नागरिक खानकै लागि काम खोज्न भौंतारिरहेको देख्दा मनभरि पीडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका हुन्।

लामो समय जुम्लाको सुन्दरताको बखान गरेका पूर्वराजा शाहले अब राष्ट्रको पुरानो गौरव फर्काउन एक हुन अपिल गरे। आफ्नै पाखुराको बलमा अघि बढ्नुपर्ने समय आइसकेको स्मरण गराउँदै शाहले यातायातको विकटता र हावापानीको जटिलता भएका क्षेत्रमा रहेको स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

‘रोजगारीका लागि जन्मे हुर्केको थातथलो छोडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यता छ। अर्काको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ पूर्वराजा शाहले भने, ‘यो हिजो होइन। हामी बदलिरहेका छौं। परिवर्तन पीडादायी भए पनि सुखद हुने निश्चित छ। सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं।’ उनले सबै मिलेर राष्ट्रिय सोच बनाउन अपिल गरे।

पूर्वराजा शाहले भने, ‘पहिले राष्ट्रिय सोच बनाऔं। मार्ग सुधार गरौं। नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षिय सहमति गरेर नयाँ निष्कर्ष निकालौं, यही नै देशका लागि भलाइ हुनेछ।’

समिट एयरको विमानमा जुम्ला पुगेका पूर्वराजालाई जुम्लावासीले नागरिक अभिनन्दन गरेका छन्। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकले विमानस्थल पुगेर स्वागत गरेका थिए।

जुम्ला विमानस्थलमा ‘राजा आऊ देश बचाऊ,’ ‘सिंहदरबार खाली गर, हाम्रो राजा आउँदै छ’, ‘राजा सबैका साझा’लगायत नारा लगाइएको थियो। चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरिसकेपछि पूर्वराजा शाहले जिल्ला प्रशासन कार्यालयअगाडि बनाइएको मञ्चबाट सम्बोधन गरेका थिए। पूर्वराजाको मन्तव्य सुन्न र हेर्नका लागि हजारौं जुम्लीवासी सदरमुकाम खलंगा आइपुगेका थिए।

प्रकाशित: २५ चैत्र २०८० ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App