२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम–बझाङमा उपनिर्वाचन : मनोनयन दर्ता हुँदै, मुख्य प्रतिस्पर्धी को-को ?

इलाम– २ र बझाङ– १(१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। इलाम– २ मा निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ– १ (१) मा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपश्चात रिक्त हुनपुगेका दुबै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

दुई क्षेत्रको निर्वाचनले संसदीय गणितमा खासै उलटफेर हुने स्थिति भने देखिन्न, तर दलहरूले चार वर्षपछि (२०८४) मा हुने निर्वाचनलाई लक्षित गरेर यो निर्वाचनलाई प्रतिष्ठाको विषय भने बनाएका छन्।

मूलतः अघिल्लो वर्ष सम्पन्न तनहुँ र चितवन उपनिर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचित भएपछि पुराना र नयाँ दल रास्वपाबीच यसपटक थप प्रतिष्ठाको लडाइँ चलिरहेको छ।

दुवै निर्वाचन क्षेत्रमा पनि बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा भइरहेको छ, जहाँ लगातार नेम्वाङले जित्दै आएको क्षेत्र भएकाले एमाले आफ्नो विरासत जोगाउने प्रयासमा छ भने कांग्रेस एमालेको गढ भत्काउँदै देशभर नयाँ सन्देश दिन चाहिरहेको छ।

उता चितवन र तनहुँको उपनिर्वाचनको नतिजाबाट हौसिएको रास्वपा पूर्वी सिमानाको क्षेत्र जित निकालेर २०८४ का आफ्नो उदयको बिगुल फुक्न चाहन्छ। अर्कातिर कोसी प्रदेशको नामकरणबाट असन्तुष्ट रहेको पहिचान पक्षधर समूह जनजाति बाहुल्य क्षेत्र जितेर आफ्नो मुद्दा स्थापित गर्ने ध्याउन्नमा छ।

उता बझाङ भने एक्लै एमाले बलियो रहेको क्षेत्र हो, तर दिवंगत कांग्रेस नेता सिंह व्यक्तिगत छाप र तत्कालीन सत्ता गठबन्धनको सहयोगमा निर्वाचित भएका थिए। यसैले उक्त क्षेत्रमा मूलतः कांग्रेसएमालेबीचमै प्रतिस्पर्धा छ।

उपनिर्वाचन हुने दुवै क्षेत्रमा दलहरूले आआफ्ना उम्मेदवार घोषणा गरेर पठाइसकेका छन्। यसरी पठाइएका उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन्। यो समाचार तयार पार्दा कतिपय उम्मेदवारहरूले मनोनयन समेत दर्ता गरिसकेका छन्।

इलाममा रोचक भीडन्त

इलाम– २ मा लामो समयदेखि एमाले र कांग्रेसबीचमै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। यद्यपि २०५६ देखि लगातार एमालेका सुवास नेम्बाङले नै जित्दै आएका थिए। ०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ ३० हजार २० भोट ल्याएर विजयी बन्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ६ मत पाएका थिए। यसरी जितहारको अन्तर ११४ मत थियो। खड्कालाई तत्कालीन सत्ता गठबन्धनका अन्य दलहरूको सहयोग थियो। बाँकी उम्मेदवारहरूको मत नगन्य नै थियो।

यसपटक उपनिर्वाचनमा पनि कांग्रेस–एमाले नै मुख्य प्रतिस्पर्धी देखिन्छन्। एमालेले आफ्नो विरासत कायम गर्ने उद्देश्यले इलाममा नेता सुवासका कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले गएको निर्वाचनमा पराजित खड्कालाई पुनः अगाडि सारेको छ। खड्का इलाम कांग्रेसका पार्टी सभापति पनि हुन्।

यसपटकको निर्वाचनमा रास्वपा हौसिएर लागेकाले प्रतिस्पर्धा थप रोचक बनाएको छ। रास्वपाले माओवादी केन्द्रनिकट पत्रकारको संगठनमा आबद्ध  मिलन लिम्बुलाई भित्र्याएर उम्मेदवार बनाएको छ। उनी पहिचानको मुद्दा उठाउँदै आएका पात्र पनि हुन्।

उता कोसी नामकरणले आन्दोलित बनेका पहिचानवादी समूहले डाकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ। इलाम– २ जनजाति बाहुल्य क्षेत्र भएकाले थेगिमको उम्मेदवारी पनि रोचक रुपमा लिनुपर्ने जानकारहरू बताउँछन्।

यसरी एमाले, कांग्रेस, रास्वपा र पहिचानवादीबीचको प्रतिस्पर्धा यसपटक रोचक देखिन्छ। यस्तै यो क्षेत्रमा राप्रपाले लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई अगाडि सारेका छन्। माओवादी केन्द्रले यसपटक एमाले उम्मेदवार सुहाङलाई सहयोग गर्ने भएको छ।

बझाङमा कांग्रेस–एमाले नै आमनेसामने

२०५६ सम्म कांग्रेस बलियो रहेको बझाङमा त्यसपछि एमालेले प्रभुत्व जमाएको थियो, तर गएको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन मिलेर एमालेलाई हराएका थिए। बझाङको एक मात्र संघीय निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जैसी निर्वाचित हुँदा अहिले उपनिर्वाचन भएको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा कांग्रेस र २ मा माओवादी केन्द्रले जितेको थियो।

प्रदेश सभा निर्वाचन क्षेत्र १ मा निर्वाचित दिवंगत नेता सिंहले १७ हजार ११२ मतसहित विजयी भएका थिए भने एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए। यसरी दुई दलबीचमै मुख्य प्रतिस्पर्धा भएको थियो।

यो सिटमा अहिले पनि कांग्रेस–एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसले उक्त सिटमा दिवंगत नेता सिंहका छोरा अभिषेक सिंहलाई अगाडि सार्दा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।

अघिल्लो पटक कांग्रेसलाई सहयोग गरेको नेकपा एसले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भनेको छ। माओवादी केन्द्र भने अनिर्णीत छ।

प्रकाशित: २४ चैत्र २०८० १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App