१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचनका लागि कांग्रेस जिल्ला समितिमा ७ जनाको नाम, भोलि केन्द्रमा पठाइने

चुलाचुली गाउँपालिकामा बसेको नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठकस्थल। तस्बिर: भीम/नागरिक

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेस जिल्ला समितिको बैठक जारी छ।

निर्वाचन क्षेत्रीय समितिको बैठकले सात जनाको नाम जिल्ला समितिमा सिफारिस गरेपछि जिल्लाबाट प्रदेश समितिमा सिफारिस गर्न बैठक बसेको हो।

हिजो (मंगलबार) चुलाचुली गाउँपालिकामा बसेको क्षेत्रीय बैठकले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङदेन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम उम्मेदवारका लागि जिल्लामा सिफारिस गरेको थियो।

कांग्रेस जिल्ला सचिव पूर्णप्रसाद गौतमले क्षेत्रीय समितिबाट आएको सिफारिसमाथि छलफल भइरहेको बताए। ‘आजै (बुधबार) साँझसम्ममा प्रदेशमा पठाउने उम्मेदवारको नाम टुंगो लाग्छ,’ उनले भने, ‘बिहीबारसम्ममा जिल्लाले प्रदेशमा सिफारिस गर्छ।’

२०७९ सालको निर्वाचनमा अहिले सिफारिसमा परेका कांग्रेस सभापति खड्का यो क्षेत्रको उम्मेदवार थिए। उनी नेकपा (एमाले)का सुवासचन्द्र नेम्बाङसँग एक सय १४ मतान्तरले पराजित भएका थिए। नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए।

यो क्षेत्रका लागि एमालेले जिल्ला कमिटीबाट सुहाङ नेम्बाङ, रवीन्द्र सुवेदी, बुद्धिप्रसाद खनाल, डा.देवी क्षेत्री दुलाल, रिप्पल राई र नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिसकेको छ। नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल उम्मेदवार छनोट चरणमा छन्। पहिचानवादी दलको तर्फबाट डकेन्द्रसिंह थेगिम र स्वतन्त्र उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी घोषणा गरिसकेका छन्। 

प्रकाशित: ७ चैत्र २०८० १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App