२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भोलि राष्ट्रियसभा अध्यक्ष निर्वाचन : माओवादी केन्द्रबाट दाहाल र कांग्रेसबाट शर्मा प्रतिस्पर्धी

राष्ट्रियसभाको अध्यक्ष चुन्न मंगलबार निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले मंगलबार अध्यक्ष चयनका लागि निर्वाचन हुने जानकारी गराएकी हुन्। अध्यक्ष पद यही फागुन २१ गतेदेखि रिक्त छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार नै संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ।

निर्वाचन कार्यक्रमबमोजिम सोमबार बिहान ११ देखि अपराह्न १ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र रहेको संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेको सूचना दिनुपर्नेछ। सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यक्रममा दर्ता भएका प्रस्तावकको सूचना दर्ताक्रमअनुसार सूची प्रकाशन गर्ने समय साढे १ बजे तोकिएको छ।

निर्वाचन कार्यक्रमबमोजिम मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन्। एक मात्र उम्मेदवारी परे समर्थक सदस्यले बोलिसकेपछि सभाको अध्यक्षता गर्नेले प्रस्तावित उम्मेदवारलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

तर एकभन्दा बढी उम्मेदवारी भए दर्ताक्रमअनुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै उम्मेदवारको प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। त्यसपछि अध्यक्षता गर्नेले सबै उम्मेदवारको प्रस्ताव क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन्।

प्रस्तावामाथि निर्णय सदस्यको दस्तखतसहित मतविभाजनबाट गरिनेछ। निर्णयार्थ प्रस्तुत गर्दा जुन प्रस्ताव राष्ट्रियसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन।

निर्वाचन कार्यक्रमबमोजिम फागुन २९ गते ११ बजे बस्ने राष्ट्रियसभाको बैठकमा निर्वाचन हुनेछ। ५९ सदस्यीय राष्ट्रियसभामा एकजना मनोनीत गर्न बाँकी छ। जसबाट ५८ सदस्यको बहुमत अर्थात् ३० जनाको समर्थन भए अध्यक्षमा निर्वाचित भएको मानिने छ।

अध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस र माहोवादीबीचको पूर्वसहमति नतोडिएको भए पूर्वमहामन्त्री कृष्ण सिटौला अध्यक्षको उम्मेदवार बन्ने थिए।

आइतबार सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर धोकाधडीको राजनीति अहिले नै टुंगिन नठान्न चेतावनी दिएका छन्। उनले शान्त बसिरहेको आफूलाई राष्ट्रियसभा सदस्य बनएर अन्ततः धोका दिएको बताएका छन्।

प्रकाशित: २८ फाल्गुन २०८० ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App