४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन तोडेर प्रचण्डले मतदातालाई धोका दिए : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्।

उनले गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका बेला जनतासँग गरेका बचनविपरितको काम गरेको बताए।

‘यस पटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ,’ आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। ‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्ट्रिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला,’ उनले भने, ‘तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ।’

उनले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गरे।

उपसभापति खड्काले असंवैधानिक तरिकाले पटक–पटक संसद विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरू प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको बताए।

‘संविधानलाई सही दिशामा ल्याउनका लागि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा विचार मिल्ने पार्टीहरूको सडक आन्दोलन र संवैधानिक सङ्घर्षमार्फत संसद्लाई पुनस्थापित गर्दै ती उद्देश्यमा सहमत भएका दलबिच राजनीतिक गठबन्धन गरिएको थियो,’  उनले भने।

निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको बताए। ‘११ महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ,’ उनले भने, ‘बाँकी कुराहरु समय क्रममा राख्दै जाउँला।’

उपसभापति खड्काले पार्टीको नीति अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । ‘महासमितिबाट आएका सुझावहरूलाई समेट्दै चाँडै केन्द्रीय समिति बैठकमार्फत पारित गरेर पुस्तकका रुपमा प्रकाशन गरेर देशभरी पठाउने छौँ,’ उनले भने, ‘नीति अधिवेशनमार्फत पारित प्रस्तावहरूलाई आम जनतामाझ लिएर जानेछौँ।’ उनले समुदायसँग कांग्रेस अभियानलाई फेरि सुरु गरिने बताए।

प्रकाशित: २७ फाल्गुन २०८० १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App