६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ समीकरणले बागमतीमा अन्यौल

केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशमा अन्यौल रहेको छ। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्। यहाँ अब कसरी नयाँ सरकार गठन गर्ने भन्नेमा नेकपा एमाले र माओवादी केन्द्रमा अन्यौलमा छ। केन्द्रको नयाँ समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी भएपनि बागमती प्रदेशसभामा एमाले र माओवादी मात्रै छ।

बागमतीमा यी दुई दलको मात्र बहुमत नपुग्ने अवस्था रहेको छ। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७ र माओवादी २१ गरी ४८ सांसद रहेका छन्। प्रदेशसभामा बहुमत पुर्‍याउन उनीहरुलाई थप ८ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउँदा समेत अझै बहुमत पुग्दैन। एमाले र माओवादीले हाम्रो नेपाली पार्टी वा नेपाल मजदुर किसान पार्टीको समर्थन जुटाउनुपर्ने अवस्था रहेको छ। यहाँ कांग्रेसको ३७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन्।

यता कांग्रेसले राप्रपा र एकीकृत समाजवादीको समर्थन पाएमा सहजै सरकार बन्नेछ। यी तीन दल मिलेमा ५७ सांसद हुनेछ। सरकार र प्रतिपक्षमा रहँदाको अवस्थामा एमाले र माओवादीको खासै राम्रो सम्बन्ध भने छैन। बागमती प्रदेशको बजेटमा सत्तारुढ दलले एकलौटी र मनोमानी गरेको भन्दै एमाले र राप्रपाले असन्तुष्टि जनाउँदै आएको छ। केन्द्रमा नयाँ समीकरण बने पनि यहाँ भने यी दुई दलबिच अब कसरी अघि बढ्ने भन्नेमा छलफल समेत सुरु हुन सकेको छैन। मुख्यमन्त्री शालिकराम जम्कट्टेल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न काठमाडौं गएको माओवादी नेताहरुले जानकारी दिएका छन्। 

कांग्रेसका दुई मन्त्री युरोपमा


नेपाली कांग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा भने युरोप भ्रमणमा रहेका छन्। करिब एक साता देखि उनीहरु विदेशको कार्यक्रममा व्यस्त रहेका हुन्। नेपाली कांग्रेस र विभिन्न सङ्गठनले आयोजना गरेको कार्यक्रमहरूमा सहभागी हुन उनीहरु युरोप गएका हुन्। उनीहरूसँगै नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत विदेश गएका हुन्।

उनीहरु नेपाल फर्किएपछि मात्रै पछिल्लो राजनीतिक घटना र बागमती प्रदेशको विषयमा आवश्यक छलफल अघि बढ्ने बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए। ‘म त कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था पो देखिरहेको छु’, चित्रकारले भने, ‘आत्तिनुपर्ने अवस्था केही छैन। जे भएको छ ठिक छ। अब उहाँहरु नेपाल आउनुभएपछि आवश्यक छलफल अघि बढ्नेछ।’ माओवादी नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा यस प्रदेशमा कांग्रेसका ६ जना मन्त्री रहेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८० १८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App