२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संविधानले दिएको सेवा सुविधा लिएर संविधानकै विरोध नगर्न राप्रपालाई सापकोटाकाे चेतावनी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इङ्गित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिए।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताए। संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरु हुन नसक्ने बताए।

उनले भने, ‘हामी सार्वभौम सत्ता सम्पन्न जनता भनेर लेखिएको छ। त्यसको तेस्रो प्यारामा सामन्ती निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरिएका सबै प्रकारका विभेद र उत्पीडन गर्दै भन्ने लेखिएको छ। त्यसपछि हाम्रो संविधानको धारा २ लाई एक पटक हेर्ने हो भने सार्वभौम सत्ता र राजकीय सत्ता भनिएको छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ। यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ। र यो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छु। तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ। पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भएभरको सम्पूर्ण सेवासुविधाहरु लिने, फेरि यही व्यवस्थाको विरोध गर्ने, यो कति नैतिक छ। यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकारको यो व्यवस्थाभित्र रहेको सीमा र कमीजोरीहरुबारे यो संसदमा मज्जाले बहस गर्न सकिन्छ, यो व्यवस्थाका बारेमा र यो संविधान भन्दा माथि गएर यो संविधानलाई ध्वंस गर्ने गरी बहस गर्ने अधिकार कसैलाई छैन। यही संविधानले दिएको लोगो र यसैले व्यवस्था गरेको संरचनामा भाग लिने, सारा सेवा सुविधा लिने, प्रदेशतिर गएर सभामुख पनि लिने, फेरि संविधानलाई विरोध गर्ने। यो संविधान र व्यवस्थाको विकल्प किमार्थ र राजा र राजतन्त्रवादीहरू हुन सक्दैन।’

प्रकाशित: १३ फाल्गुन २०८० १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App