२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

युवा विदेश पलायन गराएर मुलुक बन्दैन : भण्डारी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन गराएर मुलुक नबन्ने बताए।

भण्डारीले मेलम्ची आयोजनालगायत सडक र भवन कुनै पनि आयोजना गुणस्तरीय रूपमा हुन नसकेको, निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्न आग्रह गरे।

उनले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताउँदै उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौंको पोसाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, युवा पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा चिन्तन गर्न ढिलाइ भएको उनले बताए।

सांसद भण्डारीले मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता विषमया सबै दल एक ढिक्का भएर लाग्न आग्रह गरे। –रासस

प्रकाशित: १० फाल्गुन २०८० १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App