७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठक : ‘संविधान रक्षा र समुन्नति प्रमुख कार्यभार’

नेपाली कांग्रेसले संविधानको रक्षा, मुलुकको आर्थिक विकास र समुन्नति पार्टीको प्रमुख कार्यभार भएको स्पष्ट पारेको छ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका तीन फरकफरक प्रतिवेदनमा संविधानको रक्षा र आर्थिक विकास कांग्रेस र मुलुकको प्रमुख कार्यभार भएको उल्लेख छ।

प्रतिवेदनमा देश र कांग्रेस दुवैको उज्यालो भविष्यका लागि काम गर्ने प्रतिबद्धता गरिएको छ। यसका लागि हरेक विषयमा स्पष्टता, हरेक मुद्दामा अग्रताको दृष्टिसहित अघि बढ्नुपर्नेमा जोड दिइएको छ। 

२०७४ सालको आम निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक विकासको अपेक्षा गरेका जनतालाई तत्कालीन नेकपा नेतृत्वको सरकारले चरम निराशमा पु¥याएको ठहर गर्दै कांग्रेसले जनचाहनाअनुसार मुलुकको आर्थिक विकास र समुन्नतिका नेतृत्व लिने अठोट गरेको छ।

उपसभापति खड्काद्वारा बैठकमा पेस गरिएको ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ मा संविधानको कार्यान्वयन र रक्षा, सुशासन र सदाचार कायम गरी भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, असमानता न्यूनीकरण जस्ता विषयमा पार्टीले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। 

सार्वजनिक संस्थाको सबलीकरण, शासन प्रणालीमा नागरिक सहभागिता, संघीयता कार्यान्वयनमा जोड दिइएको प्रतिवेदनमा लेखिएको छ, ‘प्रदेश मन्त्रालयको संख्या तोकिने छ। प्रशासनिक खर्च घटाउन प्रादेशिक तथा जिल्ला तहमा रहेका विभिन्न निकायको औचित्य अध्ययन गरी आवश्यक संरचना मात्र कायम गरिने छ।’

प्रतिवेदनमा संघीयताको विकास, आर्थिक विकास, सुदृढ अर्थतन्त्र, मितव्ययी र लोकप्रिय सरकारमा जोड दिँदै लेखिएको छ, ‘आर्थिक समस्याको दीर्घकालीन हल गर्न हामी सक्षम छौं र गर्छौं।’

त्यस्तै महामन्त्री शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा ‘लोकतन्त्रको विकल्प : समुन्नत लोकतन्त्र मात्र हुने र गठबन्धन ः फरक मतको चुनौतीपूर्ण सहयात्रा’ भएको उल्लेख छ। 

अघिल्लो प्रतिनिधिसभा विघटनपछि संसद् र संविधान रक्षाका लागि निर्मित गठबन्धन निर्वाचनमा समेत एक भएर गएको स्मरण गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’

निर्वाचन आउनुभन्दा चार वर्षअघि नै त्यसबारे छलफल गर्नु आवश्यक नरहेको तर्क राख्दै प्रतिवेदनमा लेखिएको छ, ‘आगामी निर्वाचनमा पनि गठबन्धन गरेर हामी जानेछौं या तीनवटै तहको सम्पूर्ण स्थानमा कांग्रेसका उम्मेदवार खडा गर्नेछौं ? यो विषयमा हामीभित्र रहेका स्वाभाविक दुईथरी मतलाई सुरक्षित राखेर उपयुुक्त समयमा उपयुक्त निर्णयमा पुग्नेछौं नै।’

नीति, विधि र थितिको जगमा अबको १५ वर्षमा नेपाल र नेपालीको अवस्था के भिन्न हुनेछ भन्ने स्पष्ट दृष्टिकोण र कार्यक्रममा निर्माणमा प्रतिवेदनले जोड दिएको छ। राजनीतिक स्थायित्व, रूपान्तरण, नवीनता, स्वतन्त्रता, न्याय र समानता कांग्रेसको नीतिगत प्रतिबद्धता हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

अर्का महामन्त्री थापाले पेस गरेको सांगठनिक प्रतिवेदनले पनि संविधानको रक्षासहित समुन्नत नेपाल : सम्मानित नेपाली निर्माणमा जोड दिएको छ। त्यसका लागि पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउनुपर्नेमा जोड दिँदै प्रतिवेदनमा लेखिएको छ।

‘पार्टीलाई पूर्णतः विधि थितिमा चलाउने, अभिलेख र मूल्यांकनको चुस्त प्रणाली बनाउँदै नयाँ, पुराना सबै सदस्यलाई समान अवसर र न्यायको अनुभूति गराउने छौं,’ प्रतिवेदनमा लेखिएको छ, ‘पार्टीका सबै सदस्य लोकहितको एउटै ध्येयमा बाँधिएका छौं। नेपाली कांग्रेस पारस्परिक एकता, आत्मीयता, सहअस्तित्व र सहकार्यको भावनाले परिचालित हुनुपर्छ। अब हामीले गुटबन्दी र व्यक्तिगत स्वार्थबाट मुक्त पार्टी बनाउनुपरेको छ।’

कांग्रेसलाई जरैदेखि समावेशी बनाउँदै संविधानको मर्मअनुरूप प्रतिनिधित्व र निर्णय प्रक्रियामा सबै क्षेत्र, वर्ग, जाति, समुदाय र लिंगको पहुँच पुग्ने गरी संरचना बनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। 

बैठकमा प्रतिवेदन पेस गर्दै थापाले भने, ‘जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै बहस, संवाद, प्रशिक्षण, छलफल अन्तक्रियामार्फत पार्टीलाई विचारको केन्द्र बनाउने छौं। पार्टीका सदस्यलाई निरन्तर आफ्नो ज्ञानको दायरा वृद्धिका लागि उत्प्रेरित गर्न पनि त्यस्तो अवसर दिने संरचना बनाउने छौं।’

महामन्त्री थापाले सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै भ्रष्टाचार गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनअनुसार दण्डित हुनैपर्छ भन्ने मान्यतामा कांग्रेस अडिग र अविचलित रहने सन्देश दिनुपर्नेमा जोड दिएका छन्।

‘पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तिनका मुद्दासँग जोडिएको अनुभूति गराउने छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘अवसर पाएका बेला अब्बल सेवा प्रवाहमार्फत भविष्यप्रतिको भरोसा दिलाउने छौं।’

आमजनताको विश्वासमा आगामी दिनमा सबै तहका निर्वाचनमा एक्लै लडेर कांग्रेसलाई एकल बहुमतसहितको लोकप्रिय पार्टी बनाउने प्रतिबद्धता प्रतिवेदनमा गरिएको छ। यसका लागि संगठन सुधार र कार्ययोजनाका लागि २० बुँदा प्रस्ताव गरिएको छ।

ती बुँदामा विधानको परिपालना, जिम्मेवारी र जवाफदेहिता वहन, सांगठनिक कार्यतालिका, बहस, संवाद र प्रशिक्षण, सामाजिक आन्दोलन, समावेशीतालगायत छन्।

प्रकाशित: ९ फाल्गुन २०८० ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App