१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मलाई कुर्सी हल्लिने डर छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई ‘कुर्सी हल्लिने डर पटक्कै छैन’ भनेका छन्।

आइतबार सांसद गणेश पराजुलीले प्रधानमन्त्री दाहाललाई आफ्नो पद जोगाउन विगतका ठुला काण्डहरूको राम्ररी छानबिन नभएको भन्ने आशयको प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा उनले आफूलाई ‘कुर्सी हल्लिने डर’ नभएको बताएका हुन।

‘माननीय ज्यूले भनेजस्तो मलाई सरकार जालाकी भन्ने डर मलाई बिल्कुलै छैन’, प्रधानमन्त्री दाहालले भने। 

उनले आफूलाई तत्कालीन सरकारको तथा अहिलेको प्रमुख प्रतिपक्षलगायतका ले प्रधानमन्त्री बनाएको उल्लेख गर्दै पनि गरे। ‘प्रधानमन्त्री बन्दा १५ दिन हो की २० हो भन्ने सोचको थिए। अनि मैले अरू देशमा कति वटा प्रधानमन्त्री १५/२० दिनमा हटेका रहेछन् भनेर अध्ययन पनि गरेको थिए। छिमेकी भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिए। मैले यस कारण सरकार जालाकी भन्ने डर मलाई बिल्कुलै छैन’, प्रधानमन्त्री दाहालले भने।

उनले विगतका ठूल–ठुला काण्डहरूको छानबिन गरेको भनेर बधाई आउनु पर्नेमा कुनै न कुनै तर्क निकालेर राजनीतिकरण गरिएको गुनासो पनि गरे। 

‘कुर्सी हल्लिने डर भएको हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन’, प्रधानमन्त्री दाहालले भने, ‘सम्मानित सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’

सांसद पराजुलीले सुन काण्ड, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायतका प्रकरणहरूको छानबिन ‘कुर्सी हल्लिछ भन्ने डरले हो वा प्रधानमन्त्री भइँदैन भन्ने डरले हो’ प्रभावकारी नबनाएको भन्दै प्रश्न राखेका थिए।

तर प्रधानमन्त्री दाहालले भने उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबिनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठुलो प्रकरण भएको दाबी गरे।

उनले सुशासनको सङ्कल्प गरेर आफूले अभियान चलाएको बताए। नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबिन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए।

प्रधानमन्त्री दाहालले पछिल्लो पटक ६० केजी सुन तस्करी प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको उल्लेख गर्दै उनले अपराधको स्वरूप सङ्गठित प्रकृतिको देखिएपछि नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाई अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको बताए।

विमानस्थलबाट हुने सुन तस्करीको कारण र नियन्त्रणका उपायहरू पत्ता लगाउन र अपराधको जालो जरैबाट उखेल्न जाँचबुझ गरी प्रतिवेदन दिन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन भई काम गरिरहेको उल्लेख गरे।

प्रकाशित: ६ फाल्गुन २०८० १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App