१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

फेरि पनि नेतृत्व यात्रामा दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पार्टीको विधान अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै जनयुद्धका सारथीहरू तथ्यसहित नेतृत्व लिन तयार भए आफूले छाड्ने बताएका थिए। उनले विधान अधिवेशनमा पदाधिकारीसहित सबै तहको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रावधान राखिनुपर्ने पनि बताएका थिए।

त्यतिमात्र होइन, पार्टीको नाम फेर्ने विषयमा पनि उनी लचिलो देखिएका थिए। विधान अधिवेशनको तेस्रो दिन बिहीबार अध्यक्ष दाहालले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताए।

स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र ती कमिटीले पदाधिकारी चयन गर्ने औंल्याउँदै दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुने बताए। यसबाट उनी अब हुने पार्टी महाधिवेशनबाट पनि आफैं ‘सुप्रिम कमान्डर’ बन्ने दिशामा लागेको बुझिन्छ।

माओवादी केन्द्रले पहिलो पटक गरेको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुन्ने नीति पास गरे पनि दाहालको ३५ वर्षे ‘सुप्रिम कमान्डर’को यात्रामा बिराम लाग्ने देखिँदैन। विधान अधिवेशनबाट पदाधिकारीसहित प्रत्यक्ष निर्वाचन प्रणाली भने अस्वीकृत भएको छ।

स्थानीय, प्रदेश र केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन गर्ने निर्णय गरे पनि पदाधिकारीको हकमा भने तत्काल यो प्रणाली अवलम्बन नगरिने भएको छ। उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावमा पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने भनिएको थियो।

विधान सम्मेलनबाट पदाधिकारीको हकमा फेरि पनि ‘टीका’ लगाउने प्रावधान राखिएको छ। विधान अधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै दाहालले अब महाधिवेशनको तयारीमा लाग्ने बताएका छन्।

विधान अधिवेशनका क्रममा दाहालले आफू प्रधानमन्त्री पनि भएकाले विचार गरेर मात्रै विधान तयार पारेको बताए। ‘म अध्यक्ष मात्रै होइन, प्रधानमन्त्री पनि हो, धेरै कुरा त मैले पनि विचार गरेको छु नि’ भन्दै दाहालले पुनः पार्टीको नेतृत्व गर्ने संकेत गरेका थिए। दाहालले २०४६ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्।

२०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेका थिए। त्यसपछि दाहाल निरन्तर नेतृत्वमा छन्। नेकपा माओवादी अहिलेको नेकपा माओवादी केन्द्र हो। वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा पार्टीबाट बाहिरिएका छन्। पार्टीमा दाहाललाई चुनौती दिने कोही नभएकाले अब हुने महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने विधान अधिवेशनमा सहभागी प्रतिनिधिल बताए।

२०४६ सालमा नेकपा (मसाल) को महामन्त्री, २०४८ सालमा नेकपा (एकता–केन्द्र) को महामन्त्री, २०५१ मा नेकपा माओवादीको महामन्त्री, २०५७ मा अध्यक्ष, २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष र त्यसपछि माओवादी केन्द्रको अध्यक्ष बनेका दाहाल अबको महाधिवेशनबाट पनि नेतृत्वमा दोहोरिने छन्।

२०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टीको सबै अधिकार आफूमा केन्द्रित गरेका दाहालले २०६५ मा वैद्य र भट्टराईलाई उपाध्यक्ष र थापालाई महासचिव बनाएर माओवादीलाई बहुपदीय प्रणालीमा लगे पनि त्यो टिकाउ भएन।

पार्टी विभाजन हुनुअघि वैद्य, भट्टराई, गजुरेल र थापाले नेतृत्वमा दाबी गरेका थिए। तर उनीहरूले पार्टी छाडेपछि संगठन सुदृढ गर्ने भन्दै दाहालको विकल्पमा कोही अघि नसरेको माओवादी नेताहरू बताउँछन्।

एकता केन्द्रबाट माओवादीमा आएका नारायणकाजी श्रेष्ठ अहिले भैरहेका नेताहरूमा वरिष्ठ भए पनि उनलाई मूल नेतृत्व दिने पक्षमा दाहाललगायतको पार्टीपंक्ति छैन। माओवादी नेताहरू पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र देव गुरुङ पनि अध्यक्षबाहेक पदमा मात्रै दाबी गर्ने अवस्थामा छन्।  

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै वैद्यले दाहाललाई चुनौती दिन खोजे पनि सफलता पाउन सकेनन्। पार्टीको विचार र कार्यदिशालाई लिएर २०६५ मंसिरमा आयोजित खरिपाटी भेला (विस्तारित बैठक) मा वैद्यले समानान्तर दस्ताबेज पेस गरेका थिए। 

वैद्यले समानान्तर दस्ताबेज पेस गरेर नेतृत्वलाई चुनौती दिएपछि थापाले दाहाललाई सहयोग गरेका थिए। थापाको सहयोगमा दाहाल अल्पमतमा पर्नबाट जोगिए। पार्टीभित्र आफू असुरक्षित भएको महसुस भएपछि दाहालले श्रेष्ठको पार्टी एकता केन्द्रसँग एकता गरेका थिए।

त्यसपछि वैद्य, भट्टराई, थापा र नेत्रविक्रम चन्द पार्टीबाट बाहिरिए। उनीहरू बाहिरिएपछि दाहाललाई नेतृत्वमा टिकिरहन सहज भयो। २०६९ माघमा माओवादीले हेटौंडामा सातौं राष्ट्रिय सम्मेलन गरेको थियो। सातौं सम्मेलनबाट पनि दाहाल नै अध्यक्ष भए। २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले पनि दाहाललाई नै नेतृत्वमा निरन्तरता दियो।  

१९९ सदस्यीय केन्द्रीय कमिटी

विधान अधिवेशनबाट केन्द्रीय कमिटी १९९ सदस्यीय बनाउने प्रस्ताव पास भएको छ। मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको थियो। तर हलले त्यसमा संशोधन गर्दै १९९ सदस्यीय बनाएको हो। त्यस्तै कार्यालय व्यस्पान टिम ११ जनाको बनाउने, स्थायी कमिटी केन्द्रीय कमिटीको एक तिहाइ सदस्यको बनाउने प्रस्ताव पनि विधान अधिवेशनबाट पास भएको छ।

अध्यक्ष दाहालले पार्टीको नाम र चुनाव चिह्न तत्काल परिवर्तन नगर्ने बताएपछि हलबाट सो प्रस्ताव पारित भएन। विधान अधिवेशनमा सहभागीले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए।

दाहालले बिहीबार हलमा जवाफ दिने क्रममा अहिले पार्टीको नाम र चिह्न नबदल्ने, कम्युनिष्टहरूबीच बृहत् एकता भएपछि मात्रै बदल्ने बताएका थिए।

प्रकाशित: ४ फाल्गुन २०८० ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App