६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनले सत्ता गठबन्धनलाई थप सबल बनायो: काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।
 
सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सबल बनाएको ठहर गरेको हो।
 
गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै काँग्रेसले कोसी प्रदेशको परिणाम अनपेक्षित रहेको पनि ठहर गरेको छ। त्यसलाई गम्भीरतापूर्वक लिएको जनाउँदै काँग्रेसले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधानको सार्थक कार्यान्वयन अहिलेका प्रमुख कार्यभार भएको जनाएको छ। 
 
संसदीय शासन प्रणाली मार्फत यी कार्य सम्पादन गर्न संसद् र समितिहरूको प्रभावकारिता अनिवार्य रहेको जनाउँदै उसले भनेको छ,‘काँग्रेसका सम्पूर्ण सदस्यहरू संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्दै सोही अनुसार विधायनको कार्य गर्ने र राष्ट्र र जनताको हित र सरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछ।’
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्था अनुसारका धेरै कानून निर्माण गर्न बाँकी रहेको जनाउँदै काँग्रेसले त्यस्ता कानुनहरू निर्माणमा आउँदो अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ।

प्रकाशित: १९ माघ २०८० १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App